Logo

सरकारबिनै डाकियो प्रदेशसभा पहिलो अधिवेशन



काठमाडौं १५ माघ । मुख्यमन्त्री चयन प्रक्रिया सुरु नहुँदा प्रदेशसभाको पहिलो बैठक रौनकविहीन हुने भएको छ । संघीय संरचनाअनुरूप पहिलो पटक निर्वाचित प्रदेशसभाको अधिवेशन आहवान भइसक्दासमेत प्रदेश सरकार गठनको गृहकार्य सुरु भएको छैन ।

प्रदेश १ र ६ बाहेक ५ वटा प्रदेशका प्रदेश प्रमुखले प्रदेशसभाको बैठक तोकिसकेका छन् । प्रदेशसभा अधिवेशनको आहवान मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।
के–के छन् अप्ठ्यारा ?
– संसदीय मूल्यमान्यताको ‘डेकोरम’ कसरी मिलाउने ?
– कुन रोहमा कसलाई राखेर बैठक सञ्चालन गर्ने ?
– सदनलाई बिजनेस कसले दिने ?

‘संविधानमा अन्य निकायको सिफारिसमा हुने भनी तोकिएका बाहेक प्रदेश प्रमुखबाट हुने भनिएका सबै काम प्रदेश सरकारको सल्लाह, सम्मति र सिफारिसमा गरिनुपर्छ,’ प्रदेशसभा बैठकहरूको सञ्चालन र एकरूपताको संयोजन गरिरहेका संघीय संसद् सचिवालयका एक अधिकारीले भने, ‘प्रदेश सरकार छैन भनेर सोझै अधिवेशन बोलाउनुभन्दा मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु गरे प्रदेशसभा सञ्चालनमा सहजता आउँथ्यो ।’

संघीय संसद् सचिवालयका तर्फबाट विज्ञका रूपमा प्रदेशको अस्थायी मुकाममा खटिन लागेका वरिष्ठ अधिकारीहरूले प्रदेश सरकार नबनी प्रदेशसभाको अधिवेशन बस्दा सिट व्यवस्थापनमा समेत कठिनाइ हुने बताएका छन् । ‘संसदीय अभ्यासमा दायाँतर्फ सत्तापक्ष, बायाँतर्फ प्रतिपक्ष र बीचको रोहमा मन्त्रिपरिषद् सदस्यहरूको सिट तोकिन्छ,’ ती अधिकारीले भने, ‘सरकार गठन नै नभएको अवस्थामा कसलाई कतापट्टि राखेर बैठक सञ्चालन गर्नु ?’ सचिवालयले दायाँतर्फ सत्तापक्ष, बायाँतर्फ प्रतिपक्ष, बीचको रोहमा मुख्यमन्त्री र मन्त्रीहरू, सभाकक्षको पछिल्लो भागमा प्रेस ग्यालरी, कर्मचारी कक्ष र दुई/दुईवटा दर्शकदीर्घा हुने गरी प्रदेशसभा बैठककक्षको ‘डमी’ पठाएको छ ।

संसदीय अभ्यासमा सदनलाई बिजनेस (कार्यसूची) दिने जिम्मेवारी सरकारको हो । प्रदेश सरकार नै नभएको अवस्थामा प्रदेशसभाहरूको पहिलो बैठकको कार्यसूची बैठक आह्वानसम्बन्धी प्रदेश प्रमुखको सूचना पढेर सुनाउनेलगायत औपचारिकतामा सीमित हुने सम्भावना छ । प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेशसभाको बैठक आहवान गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण ५ वटा प्रदेशका प्रमुखहरूले प्रदेशसभा अधिवेशन आहवान गरिसकेका छन् । प्रदेश १ र ६ का प्रदेश प्रमुखले भने प्रदेशसभा सञ्चालनमा खटिने कर्मचारी सम्बन्धित मुकाममा पुगेपछि मात्रै अधिवेशन आहवान गर्ने गृहकार्य गरिरहेको स्रोतले जनाएको छ ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्