Logo

दुईवटा नागरिकता लिएको भन्दै उजुरी



रोल्पा, १८ माघ । रोल्पा सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको छ । एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिपाऊँ भन्दै स्थानीय हरिबहादुर पुनले बुधबार जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी दर्ता गराएका हुन् ।

२०४२ साल मंसिर १० गते जिल्ला प्रशासन कार्यालय, रोल्पाबाट भिउदे खत्रीको नाममा ना।प्र।नं। ३८९२ बाट नागरिकता लिएको र २०४६ साल वैशाख ५ गते नागरिकता टोलीमार्फत गाउँबाटै ना।प्र।नं। १८६ बाट वीरबहादुर खत्रीको नामबाट नागरिकता लिएको देखिएकाले छानबिन गरी कारबाही गर्न उजुरी पत्रमा माग गरिएको छ ।

एकै व्यक्तिको दुईवटा नामबाट नागरिकता लिएको भन्दै छानबिन गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको प्रजिअ डा डिजन भट्टराईले जानकारी दिनुभयो । उजुरी परेपछि दर्ता गर्ने र अनुसन्धान प्रक्रिया अगाडि बढाउने आफ्नो कर्तव्य भएकाले सोही अनुसार गर्ने डा भट्टराईको भनाइ छ ।

“झुटा विवरण पेश गरी एउटै व्यक्तिले दुईवटा नागरिकता लिएको हुँदा गाउँको आमभेलाको निर्णयअनुसार कारबाहीका लागि स्थानीय प्रशासनमा उजुरी गरेका हौँ”, उजुरीकर्ता हरिबहादुर पुनले भन्नुभयो । सम्पूर्ण प्रमाण संलग्न गरी उजुरी गरेको पुनले बताउनुभयो । २०४० सालमा मृत्यु भएका भाइ वीरबहादुर खत्रीको नामबाट गाउँपालिकाका अध्यक्षले दोस्रो पटक नागरिकता लिएको पुनले बताउनुभयो ।

सो बारे जानकारी लिन गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीसँग पटक पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । रासस



प्रतिक्रिया दिनुहोस्