Logo

भारतको बजेट : नेपालबाट जाने वस्तुमा ५० प्रतिशतसम्म भन्सार



काठमाडौं १९ माघ । भारतले नेपालका भारततर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ । भारतले जुस, जुत्ता, घिउ–तेललगायत आयातमा भन्सार बढाएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् । जुसमा भारतले यसअघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५ प्रतिशत र अन्य जुसमा ५० प्रतिशत भन्सार लिने भएको छ । गत आर्थिक वर्षमा ५ अर्ब ९ करोड रुपैयाँको जुस निर्यात भएको थियो । नेपालबाट भारततर्फ डाबर जुस सबैभन्दा धेरै निर्यात हुन्छ ।

चालू आर्थिक वर्षको ६ महिनामा करिब ७८ करोड रुपैयाँको जुत्ता भारतमा निर्यात भएको छ । गत आवमा १ अर्बभन्दा बढीको जुत्ता नेपालबाट निकासी भएको थियो । नेपालबाट गोल्डस्टारलगायतका जुत्ता भारततर्फ ठूलो मात्रामा निर्यात हुन्छन् । त्यस्तै, यस अवधिमा ७ करोड ३६ लाख रुपैयाँको खाने तेल भारतमा निर्यात भएको छ । त्यस्तै, केही मात्रामा जुस र जुसको पल्प पनि निर्यात भएको छ । छुत्ता निर्यातमा यसअघि १० प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा अब त्यो २० प्रतिशत पुगेको छ ।

भन्सार दर बढ्दा नेपाली निर्यात प्रभावित हुने भए पनि भारतीय पक्षबाट आधिकारिक धारणा आएपछि यसमा छलफल गरिने नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । ‘यही फ्रेबुअरीमै महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई)बीच संयुक्त आर्थिक परिषद्को बैठक हुँदैछ, त्यस्तै दुई देशका बाणिज्य मन्त्रालयस्तरीय बैठक समेत हुँदै छ,’ उनले भनिन्, ‘हामीलाई पर्ने प्रभावबारे ती बैठकमा छलफल गर्ने छौं ।’ नेपालको व्यापार घाटा उच्च रुपमा बढिरहेको सन्दर्भमा निर्यात भइरहेका नेपाली वस्तुलाई थप कर लगाउँदा मुलुकलाई ठूलो असर पर्ने उनको धारणा छ ।

भारतले नेपाललाई अनुदान बढायो
भारत सरकारले नेपाललाई दिने बजेटरी अनुदान बढाएको छ । भारतीय अर्थमन्त्री अरुण जेट्लीद्वारा बिहीबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) अनुदान दिने प्रस्ताव गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भारत सरकारले कुल ३ अर्ब ७५ करोड भारु अनुदानस्वरूप दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्