Logo

सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण



काठमाडौँ, १९ माघ । गत असोजमा गरेको चार बुदेँ सम्झौता कार्यान्वयनका लागि नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ । गत असोज १३ गते प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र संघबीच भएको सम्झौता कार्यान्वयनका लागि नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

 स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र सो सम्बन्धमा बनेको नियमावली २०६९ लाई परिमार्जन गरी बिना धरौटी हिरासतमा लिई कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउन मिल्ने व्यवस्था र चिकित्सकको पारिश्रमिक तथा सुविधा बढाउने लगायतका बुँदा कार्यान्वयनका लागि संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

संघका महासचिव डा लोचन कार्कीले सम्झौताका सम्बन्धमा हालसम्म कुनै पनि उपलब्धि हासिल नभएकाले संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझ विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराउनु भएको हो ।

महासचिव कार्कीले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारको व्यवहारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चिन्तित तुल्याएको पनि बताउनुभयो ।विगतमा भएका सम्झौताको कार्यान्वयनमा अझै ढिलाई भए ठोस् कदम चाल्ने चेतावनी पनि संघले दिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्