Logo

विस्थापित परिवारलाई एकीकृत बस्तीमा पुनःस्थापना



नुवाकोट, २० माघ । भूकम्पसँगै गएको सुक्खा पहिराले विस्थापित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनःस्थापनाका लागि एकीकृत बस्ती निर्माणको काम शुरु गरेको छ । भौगर्भिक तथ्यांकअनुसार विभिन्न बस्तीबाट विस्थापितमध्ये दुई स्थानका ६५ परिवारलाई प्राधिकरणले जग्गा खरिद गरी एकीकृत बस्तीको निर्माण प्रक्रिया अघि बढाएको छ । तादी गाउँपालिका–१ उर्लेनीबाट विस्थापित ७२ परिवारमध्ये ५१ र सूर्यगढी गाउँपालिका–१ लच्याङका १४ परिवारका लागि सुरक्षित स्थानमा जग्गा खरिद गरी हस्तान्तरण गरिएको छ ।

उर्लेनीबाट विस्थापितलाई तादी–३ खरानीटारमा जग्गा गरिद गरी एकीकृत बस्ती निर्माण शुरु गरिएको प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लच्याङबाट विस्थापितलाई सूर्यगढी–४ हल्देकालिकामा जग्गा खरिद गरी तिनका नाममा जग्गाधनी प्रमाणपत्र पुर्जा ९लालपुर्जा० प्रदान गरिएको छ ।

वितरण गरिएको प्रमाणपत्र संयुक्त ९श्रीमान्–श्रीमती दुवैका नाममा० छ । “खरानीटारमा पुनःस्थापना गरिएको परिवारका लागि एकीकृत बस्ती निर्माणका लागि अक्सफामसँग सम्झौता गरी जग्गा सम्याउने काम अघि बढाउन लगाएका छौँ”, गौडेलले भन्नुभयो, “हल्देकालिकामा पुनःस्थापना गर्न लागिएका परिवारलाई प्राधिकरण आफैँले सहयोग पु¥याउने निर्णय भएको छ ।”

‘राष्ट्रिय पुनर्निर्माण कार्यविधि २०७२’ मा १० भन्दा बढी लाभग्राही घर परिवारले एकै स्थानमा आवास निर्माण गर्न चाहेमा प्रतिपरिवार रु चार लाखसम्म लगानी गरिने प्रावधान छ । एकीकृत बस्तीका लागि सडक, विद्युत्, खानेपानी, विद्यालय, खेल मैदानलगायत पूर्वाधार विकास सरकारी पहलमा हुने व्यवस्था छ ।

पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूकम्प र त्यसपछिको पहिराले बस्ती जोखिममा पु¥याएकाले जिल्लाका उर्लेनी, घ्याङ्फेदी, लच्याङ, महाकाली, किम्ताङ र साल्मेका ३२१ परिवार पुनःस्थापना गर्नुपर्ने देखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्