Logo

नेपालमा चुनावको सफलता संक्रमणकाल अन्त्यको कोसेढुंगा : भारत



काठमाडौं २१ माघ ।
भारतले संविधान कार्यावन्यनका क्रममा भएका तीनै तहको निर्वाचनको सफलता नेपालको स्थायित्व एवं लोकतान्त्रिक विकासमा कोसेढुंगा हुने विश्वास व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्केपछि भारतीय विदेश मन्त्रालयले शुक्रबार राति वक्तव्य जारी गरी नेपालको संविधान र तीनै तहको सफल निर्वाचनको औपचारिक रूपमा स्वागत गरेको हो ।

भारतले वक्तव्यमा तीनै तहको चुनावपछि लामो समयपछि राजनीतिक संक्रमणकाल अन्त्य भएको र त्यो नेपालको स्थायित्व र विकासमा ‘कोसेढुंगा’बन्ने विश्वास व्यक्त गरेको हो । यसअघि भारतले नेपालमा संविधानसभाबाट जारी संविधानको स्वागत गरेको थिएन । उसले संविधान संशोधन गरी मधेसीसहित सबै असन्तुष्ट पक्षलाई समेटन आग्रह गर्दै आएको थियो ।
तीनै तहको चुनावमा मधेसी दलसहित जनताको ऐतिहासिक सहभागिता भएपछि भारतले निर्वाचनको सफलताको स्वागत गर्दै संविधानको समेत स्वागत गरेको हो । निर्वाचनमा मधेसीसहित जनताको उत्साहपूर्ण सहभागितापछि नै भारतको बोली र व्यवहारमा फरक आएको हो ।

चुनावमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि उससित नयाँ शिराबाट सम्बन्ध सुरु गर्न भारत अग्रसर भएको हो । त्यसकै प्रयास स्वरूप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय विदेशमन्त्री स्वराजलाई नेपालमा विशेष दूतका रूपमा पठाएका हुन् । भारतले सबभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको संज्ञा नै दिँदै त्यही अनुरूपको महत्व समेत दिएको छ । भारतले नयाँ सरकारसित सहकार्य गर्न आफ्नो सरकार आतुर रहेको सन्देशसमेत दिएको छ ।
भारतीय विदेश मन्त्रालयले स्वराजको नेपाल भ्रमण ‘सफल’ र ‘सम्बन्धलाई पारस्परिक हितको उचाइ’मा पुर्‍याउन सहयोगी बनेको जनाएको छ । नेपाल-भारत सम्बन्ध थप सकारात्मक दिशामा गएको टिप्पणीसमेत भारतले गरेको छ ।

भारतीय नाकाबन्दीपछि चिसिएको सम्बन्धलाई सुधार्न भारतीय विदेशमन्त्री नेतृत्वको उच्चस्तरीय टोली नेपाल आएको र त्यसले राजनीतिकस्तरमा विश्वासको वातावरण बनाएको विश्लेषण परराष्ट्र अधिकारीहरूको छ । अवस्थाको स्थलगत विश्लेषण नै यो भ्रमणको मुख्य पाटो रहेको नेपाली कूटनीतिज्ञको दाबी छ । यसबाट भारतको नेपाल नीतिमा आउने परिवर्तन मात्र नभएर प्रधानमन्त्री स्तरमा हुने आगामी वार्ताको खाका समेत तय गरेको अनुमान ती अधिकारको छ । भारतीय प्रधानमन्त्री मोदी र यताका प्रधानमन्त्रीको आगामी दुवैतर्फ हुने भ्रमण पनि यही आधारमा तय हुनेछ । परराष्ट्र मन्त्रालयले भने उनको भ्रमण सकिएको वा कुराकानी के भएको कुनै कुरा बाहिर ल्याएको छैन । यद्यपि सरकारका अर्थ राज्यमन्त्री उदयशमसेर राणाले स्वराजलाई स्वागत र बिदाइ गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीसँगको वार्तामा परराष्ट्र अधिकारीको उपस्थिति थियो ।

भारत नयाँ शिराबाट नेपालसँग सम्बन्ध राखेर विगतको ‘बलमिचाई’ वा ‘हेलचेक्राइँ’लाई सुधार्न तयार देखिन्छ । जनताको म्यान्डेट लिएर नयाँ सरकार अघि बढेको र संघीयता कार्यावन्यनमा गएको अवस्थामा भारत निकट रहेर सहकार्यको हात अघि बढाएको उसको वक्तव्यबाट स्पष्ट हुन्छ । ‘गेट क्र्यास’को शैलीमा भएको भ्रमणको सबै भाव यही रहेको भए पनि भारतको कूटनीतिक तथ्यांकमा उनको यो भ्रमण रेकर्ड छ र तर हाम्रोमा छैन । त्यो भ्रमणलाई विदेश मन्त्रालयले औपचारिक शैलीको भ्रमणको रुपमा नै तय गरेको हो । सामान्यतया यही कोर्समा अघि बढ्ने कि करेक्सन गर्ने भन्नेमा उनीहरु अलमलमा छन् । हुन त, भारतीय पक्षहरु ‘कोर्स करेक्सन’भन्ने शब्द सुन्न त्यती रुचाउँदैनन् तर उनीहरुको शैली र बुझाईमा भने भारत पुरानो उत्तेजित पकडलाई शलिन ढंगले उपयोग गर्नेमा नै देखिन्छ ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्