Logo

ओली–मोदीवीच चार बुँदे सहमति भएको खुलासा !



काठमाडौं, २१ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा नयाँ थपिएको हल्ला सुनिएको छ । स्वराजको नेपाल भ्रमणसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच चार वटा विषयमा सहमति भएको समेत खुलासा भएको छ ।

उच्च स्रोतले दिएको जानकारी अनुसार मोदी र ओलीले नयाँ बदलिँदो परिवेशलाई आत्मासात् गर्दै द्धिपक्षीय सम्बन्धलाई आपसी हित अनुकुल अघि बढाउने संकल्प गरेका छन् । नेपालमा तीनै तहका निर्वाचन सम्पन्न भएपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालका तीन वटै ठूला दलका नेतालाई फोन गरेर व्यक्तिगत रुपमै बधाई दिएका थिए । यसमा पनि उनले खास महत्व भने एमाले अध्यक्ष ओलीलाई नै दिएका थिए ।

उनले एक महिनाको अवधिमा दोहोर्याएर ओलीसँग कुरा गरेका थिए । उनले कुराकानीको दौरानमा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा चित्रण गर्दै भारत भ्रमणको निम्तो समेत दिएका थिए । त्यसको केही दिनपछि नै भारतले नेपालमा विदेशमन्त्री स्वराजलाई नेपाल पठाउने खबर सार्वजनिक गरेको थियो । र, स्वराजले हालै नेपालको भ्रमण गरिसकेकी छिन् । उनको दुई दिने नेपाल भ्रमण एमाले अध्यक्ष ओलीकै निम्तोमा भएको हो पनि भनिएको छ ।

ओली–मोदीवीच चार बुँदे सहमति :

ओली र मोदीवीच भएका महत्वपूर्ण चार सहमति अनुसार पहिलो रहेको छ । ओलीको निमन्त्रणमा मोदी नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनको नेपालका मुक्तिनाथ र जनकपुरको जानकी मन्दिर घुम्ने अधुरो चाहना ओलीले नै पूरा गराउने भएका हुन् । जुन कुरा ओलीले मोदीसँगको टेलिफोनवार्तामा समेत भनिसकेका छन् । रमाईलो त के भने, मोदीले पनि ओलीलाई प्रधानमन्त्री बन्नुपुर्व नै भारत भ्रमणको निम्तो दिए । र, ओलीलाई स्वागत गर्न आफूहरु आँतुर रहेको मोदीको वचन थियो । पहिलो सहमतिमा दुवै नेताले एक अर्काको देशको भ्रमण गर्ने रहेको छ । उनीहरुको समझदारी भनेको नै द्धिपक्षीय उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने ।

दोस्रो समझदारीमा भने आर्थिक साझेदारी रहेको छ । मोदीले पनि नेपालमा स्थायित्व र विकास होस भनेर धेरैपटकको सार्वजनिक भाषणमा आफ्नो अभिव्यक्ति दिईसकेका छन् । सोही अनुसार उनले नेपालमा निर्वाचन सम्पन्न भएकोले आर्थिक समृद्धिको लागि सहकार्यमा जोड दिएका छन् । यता ओलीले पनि मोदीको उक्त चाहनामा आफू पूर्ण रुपमा सहमत भएको जनाईसकेका छन् ।

तेस्रो सहमतिमा भने द्धिपक्षीय सम्बन्धमा देखिने र आगामी दिनमा आउने भवितव्य खालका अविश्वासका खाडलहरुलाई आपसी समझदारीका आधारमा हल गर्ने रहेको छ । विगतमा देखिएका अविश्वासलाई अब विश्वासमा परिणत गर्नुपर्नेमा उनीहरु दुवै एकमत देखिएका छन् ।

त्यस्तै उनले सिमा नाकामा देखिने सबै खाले समस्याहरुपनि कुटनैतिक टेबलमार्फत हल गर्नुपर्ने आपसी समझदारी बनाएका छन् । नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदन अनुसार नै अघि बढ्ने पनि उनीहरुवीच समझदारी बनेको छ।

त्यस्तै चौथोमा आर्थिक समृद्धि र विकासको लागि भारतसँगको सहकार्यलाई अझै तिव्रता दिने पनि ओली–मोदीवीच समझदारी बनेको छ। दुई तिहाईभन्दा बढिको व्यापारिक हिस्सा भारतसँग भएकोले आगामी दिनमा पनि भारतसँग दिर्घकालिन रुपमा सहकार्य गर्ने ओलीको चाहना छ ।



प्रतिक्रिया दिनुहोस्