Logo

प्रदेश २ मा फोरम र राजपाबीच यसरी बन्दै छ सत्तासमीकरण



काठमाडौं २४ माघ ।
प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच मुख्यमन्त्री, सभामुख, प्रदेश सभाका समितिका सभापतिका लागि प्याकेजमा भागबन्डा हुने भएको छ । प्रदेश सभा सदस्यले शपथ खाएको मितिले ३० दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने संवैधानिक बाध्यताका कारण दुवै दलले समग्र शक्ति बाँडफाँडमा औपचारिक वार्ता थाल्दै छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष महन्थ ठाकुरसहितको अध्यक्ष मण्डलबीच मंगलबार औपचारिक वार्ता हुनेछ । ‘सरकार गठनलगायत समग्र विषयमा प्याकेजमा सहमति खोज्न मंगलबार अध्यक्षको तहमा औपचारिक वार्ता प्रारम्भ हुँदै छ,’ राजपा महामन्त्री जितेन्द्र सोनलले भने, ‘त्यसपछि आवश्यकताका आधारमा दोस्रो तहका नेताहरूसहितको छलफल पनि हुन सक्छ । समयको पाबन्दीका कारण हामी चाँडै टुंगो लगाउँछौँ ।’

उनका अनुसार दुई दलले गठबन्धन बनाएर निर्वाचनमा गएका कारण सत्ता साझेदारी गर्ने अघोषित सहमति छ । ‘अब हामी औपचारिक रूपमै मिलेर जाने सैद्धान्तिक सहमति गर्छौँ । त्यसपछि मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्रीहरू, समितिका सभापतिलगायतबारे प्याकेजमा सहमति खोज्नेछौँ,’ सोनलले भने ।

प्रदेश सभाका कुल १०७ मध्ये सरकार निर्माणका लागि चाहिने फोरम र राजपासँग ५४ मत छ । तर, २ फागुनमा उनीहरूको एकजना प्रदेश सभा सदस्य सभामुख बनेपछि एकसिट घट्छ । त्यसका लागि एकसिट रहेको रिजवान अन्सारी नेतृत्वको नेपाल समाजवादी पार्टीका सावित्री साह वा स्वतन्त्र प्रदेश सभा सदस्य अब्दुल कलाम आजादमध्ये एकलाई सामेल गराउने उनीहरूको योजना छ । यीमध्ये आजादलाई समेट्ने सम्भावना प्रबल छ । त्यस अवस्थामा सरकार गठनका लागि उनीहरूको बहुमत पुग्नेछ । उनीहरूले बहुमत सिद्ध गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने र मुख्यमन्त्रीले मन्त्रिपरिषद् गठन गर्ने संवैधानिक व्यवस्था छ ।

अन्य दलसँग पनि छलफल गर्ने

फोरमको मुख्यमन्त्रीका उम्मेदवार लालबाबु राउतले राजपा र अन्य दलसँग सहकार्य गरेर सरकार गठन गर्ने गरी पार्टीले छलफल थाल्ने बताएका छन् । फोरम नेता राउत मुख्यमन्त्री बन्ने अवस्थामा राजपाले सभामुखसहित महत्वपूर्ण मन्त्रालय र प्रदेश सभाअन्तर्गत महत्वपूर्ण समितिको नेतृत्व दाबी गर्ने बुझिएको छ । संविधानअनुसार कुल सदस्य संख्याको २० प्रतिशत नबढ्ने हिसाबले प्रदेश २ मा २१ जनाको मन्त्रिपरिषद् बन्ने सम्भावना छ । प्रदेशमा सात मन्त्रालय तोकिएकाले सातजना क्याबिनेट मन्त्री र बाँकी १४ जना राज्यमन्त्री तथा सहायकमन्त्री हुनेछन् ।

अहिलेसम्मको तयारी संसदीय समिति चारवटा रहनेछ । यसमा पनि आधा–आधा भागबन्डा हुने सम्भावना छ । सत्ता गठबन्धनलाई समर्थन गर्ने स्वतन्त्र प्रदेश सभा सदस्यलाई एकमन्त्री वा समितिको सभापतिमध्ये एकको प्रस्ताव गर्ने सम्भावना रहेको राजपाका एक नेताले जानकारी दिए । फोरमले मुख्यमन्त्री पाउने अवस्थामा राजपाले सभामुख पाउनेछ । राजपाले सप्तरीका नवलकिशोर साहलाई अघिसार्ने सम्भावना छ । राजपाले सात मन्त्रीमध्ये चार मन्त्रालय माग्ने गरी छलफलको तयारी गरेको छ । सभामुख र उपसभामुखमा पनि राजपाको दाबी छ ।

फोरम स्रोतका अनुसार राजपासँग सहमति हुनासाथ सभामुखको निर्वाचनसँगै प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्तिका लागि ५४ जना प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाउने सम्भावना छ । ‘फागुन २ गते सभामुखको निर्वाचनमा साझा उम्मेदवार तय गर्ने वेलामा ५४ जनाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएर सरकार गठन गर्नेबारेमा पनि राजपासँग छलफल गर्दै छौँ । कुरा मिल्यो भने फागुन पहिलो साता सरकार गठन हुनसक्छ,’ फोरमका एक नेताले भने ।

सभामुख निर्वाचनका लागि प्रक्रिया अघि बढाउने तयारी
संसद् सचिलालयले २ फागुनमा सभामुख निर्वाचनका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ । ज्येष्ठ सदस्य लगनलाल चौधरीले २९ माघ बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको प्रदेश सभा सचिवालयका सचिव वंशीराज पौडेलले जानकारी दिए । स्रोतका अनुसार ५ फागुनमा उपसभामुखको निर्वाचन हुनेछ । संविधानको धारा १६८ को उपदफा ३ अनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र कसैले पनि बहुमत हस्ताक्षर बुझाउन नसके प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । फोरम र राजपाबीच सत्ता साझेदारीमा सहमति नभएको अवस्थामा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले ८ फागुनमा फोरम संसदीय दलका नेता लालबाबु राउतलाई मुख्यमन्त्री नियुक्त गरेर ३० दिनभित्र बहुमत पुष्टि गर्न समय दिन सक्ने सम्भावना छ ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्