Logo

सिधाकुरा भूतसँग ! सस्तो लोकप्रियताको पराकाष्टा



धनराज वास्तविक : २१ औं शताब्दीको विज्ञानको यूगमा पनि भूतप्रेत हुन्छ भन्दै बिश्वस्त पार्नु मुर्खता मात्रै होईन । अपराधजन्य कार्य पनि हो । यस विषयमा धेरै थरिका आवाजहरु आउने गरेका छन् । र भन्ने गरिदैछ नेपाली मिडिया र नेपाली पत्रकारहरु उल्टोबाटो हिड्दैछन् । पक्कै पनि केही पत्रकारहरु उभर्दो गर्न उद्दत देखिन्छन । यो दृश्य सत्य पनि हो । केही दिन अघि सिङगो पत्रकार जगत माथि नै प्रश्न उठ्ने काम भयो। एउटा सशक्त टेलिभिजन नै यस्ता अन्धविश्वासहरुको पछि लाग्नु कुनै पनि हालतमा सामान्य मान्न सकिन्न ।

अरु धेरै उपायहरु बाँकि हुँदा हुँदैपनि क्यामेरा दुरपयोग गर्नु जायज होईन । भूतको रिपोर्टले जनमानसमा कति आतंक र डर पैदा भयो त्यसको लेखा जोखा कसैसँग छैन् । बालबालिका र महिलाहरुको मनोविज्ञानमा परेको असरलाई कसैले देखेन । कुनै व्यक्तिलाई देवत्वकरण गर्नु जायज मान्न सकिदैन । भूतको रिपोर्ट हेरिसके पछि त्यो रात कति बालबालिका र महिलाहरु डरको सिकार बने ? त्यसको जिम्मेवार को भयो ? वाईयात कुराहरुको अध्ययन अनुसन्धानको नाममा गलत कुराहरुलाई प्रसय दिनु कदापि राम्रो होईन ।

यहाँ नेर एउटा कुरा उल्लेख गर्छु । ‘नेपाली सञ्चार माध्ययममा भनौ या समाचारमा ‘हतार’ नामको एउटा भाईरस पसेको छ ।’ जुन भाईरस नेपाली मिडियाबाट कहिल्यै निर्मुल हुने मैले देखेको छैन् । यस वाक्यलाई गम्भिर भएर सोच्ने हो र हामी पत्रकारहरुले बे्रकिङ समाचार दिने नाममा वा सूचना दिने नाममा हतार गर्नु सबैभन्दा ठुलो गल्ति हो । कुनै समाचार एक घण्टाभित्र दिनुपर्नेछ भने बरु थप केही समय लिनुपर्छ तर हतारमा गलत सूचना दिनु हुँदैन भन्ने सञ्चार माध्ययमको मूल मन्त्र हो । सत्य, तथ्य र निश्पक्ष जस्ता महान मन्त्रहरुलाई थाक्नामा सुताएर समाजलाई नै भ्रमित पार्ने खालका काम गर्नुलाई अपराध हो नभनि के भन्ने ?

खास उद्देश्यलाई प्रकाश पार्ने ध्येयकासाथ नेपालको कुनै एक राष्ट्रिय टेलिभिजनबाट भूतको रिपोर्ट नै प्रसारण गरिनुले आध्यात्मिक चिन्तनलाई बढावा दिएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छन । प्रमाणबिहिन अदृश्य शक्तिलाई सत्य सावित गर्ने हर्कत गरिनुलाई हल्का र सस्तो लोकप्रियताको पराकाष्टा भन्न कुनै डर छैन् । एकातिर भूत प्रेतमा विश्वास गर्नुहुन्न भन्ने अर्को तर्फ यो दृश्य हेर्नुहोस् पनि भन्ने ? यो कस्तो खालको सूचना हो ? ‘क्यामेरा मै रेकर्ड भयो आवाज’ एउटा सिंगो टोल त्रासमा’ भन्ने शीर्षकमा सूचना प्रशारण गर्दा नियमन निकाय चुप लाग्छ । कुनै कदम उठाउन सक्दैन । कुनै प्रकारको कदम लिनु अभिसाप सम्झन्छ ।

नेपालका पत्रकाहररुले सिधा कुरा जनतासँग होईन आजको दिनमा सिधा कुरा भुतसँग गर्न थाले भन्न थालिएको छ । सामाजिक सञ्जालमा भूतको रिपोर्ट प्रशारण बारेमा तमाम आलोचना गरिएका छन् । ती मध्य नायिका रेखा थापाले आफ्नो फेशबुक पेजमा यस्तो लेखेकी छन्:

‘भनाई छ अन्धबिश्वास आदत हो बिश्वास होइन’ हामी करोडौ ग्यालेक्सीहरुको लाखौ र प्रकाशले पार गर्न नसक्ने गुरुत्वको परिधी परको अध्यारो सुरुङ, मस्तिस्क र मसिनको इन्टर्फेस, जैबिक इन्जिनियरिङको दुनियाँमा नेपाल भन्ने देश र नेपाली मानसिकता बाँचिरहेका छौँ ।

अचम्म लाग्छ, दुनियाँ बिपना जस्तो र नेपाली हुनु सपना जस्तो । हामी दिनको १२ बजे भुत देख्छौ, भुतसँग लड्न पत्रकारको अगुवाइमा पुलिसको टिम पुग्छ, सारा नेपालीका सामाजिक सन्जालमा भुत छाउछ, भुतबारे यती बहस हुन्छ कि केटाकेटीहरु गोला अस्थिर आँखा टोलाउदै आमा बाको बयान सुन्दछन । मान्छे आफ्नो योग्यता बिर्सन्छन, तार्किकता हराउछ, बिश्वबाटै हराइसकेको अन्धबिश्वासको इतिहास बिर्सन्छ र मान्छे आफुलाई अफवाहरुको अफिममा यसरी नतमस्तक समर्पण गर्दछ कि उ आफु जिउँदो भएको प्रमाण अरुले दिनुपर्नेसम्मको बेहोसिमा पाउँदछ ।

नहोस् पनि किन, नीति तथा कार्यक्रम छोडेर ज्योतिषिकोमा हात हेराउन दौडनेको सरकार छ । लाखौ नेपालीले भरोसा गरेका परिवर्तनको हुकार हाल्ने पत्रकारहरु र मिडियाहरु सबै लाईभ भुत प्रसारण गर्छन । अन्धबिश्वासिहरुलाई बिषय चाहिन्छ कारण चाहिदैन । वैज्ञानिक युगमा जन्मेका भुराभारीलाई ‘भुत युगको’ निरन्तर सस्कार र बिरासत हस्तान्तरण गर्न उद्धत छौँ । सरोकारवाला नायकहरुलाई सफलता मिल्यो अन्धबिश्वासलाई मर्न नदिने अफवाह र आदत पुनर्बहाली गर्न सकेकोमा । तर केही प्रश्न जरुर अनुत्तरित छन ।’

यो स्टाटसलाई गहन भएर लिने हो भने हामी पत्रकारहरु नै यसरी चुकेकोमा हामीलाई नै थाह छैन् । पत्रकार भनेको एउटा व्यक्ति होईन । एउटा व्यवस्था हो । एउटा जागरण अभियान हो । एउटा अभियान्ता हो । जसले के बोल्ने ? के लेख्ने ? के कुरा प्रसारण गर्ने ? के कुरा लुकाउने ? उही पत्रकारलाई थाह नहुने हो भने समाज कसरी परिर्वतनको राजमार्गमा हिड्छ ? यो गहन प्रश्नको उत्तर भुतको रिपोर्ट बजाउनेले कसरी दिन्छन् ? के कुनै एक टेलिभिजन ‘शो’ चलाउँदैमा असली पत्रकार भईन्छ ? पत्रकार हुनको लागि केही मापदण्ड चाँहिदैनन् ?

माथि उल्लेख गरेको हतार नामको भाईरसलाई प्रष्ट पारौं, मलाई मात्रै होईन धेरै व्यक्तिलाई स्मरण होला गण्तन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यावदले तात्कालिन समयमा नेपालको पूर्विभागमा एउटी अनुजा बाँनिया नामकी यूवतीले करोड पैसा फेला पारिन् भनेर कान्तिपुर दैनिकमा समाचार पढे । त्यस लगत्तै यादवले अनुजालाई फोन गरेर धन्यवाद दिए । पछिल्लो दिन त्यो समाचार गलत प्रमाणित भयो । कान्तिपुरले क्षमा माग्यो ।

त्यस्तै केही दिन अघि नेपाल आयल निगमका महानिर्देशक गोपाल खड्कालाई लक्षित गर्दै नागरिक दैनिकले समाचार लेख्यो । अर्बौ भष्ट्रचार गरेको समाचार प्रकाशन गर्ने नागरिक अन्ततः अदालको फैशला पछि नाक खुम्च्याउन बाध्य भयो । खड्का दोषि ठहर भएनन् । हिजो आजको कुरालाई स्मरण गराउने हो भने कान्तिपूर दैनिकले अजय सुमार्गी बिरुद्ध समाचार प्रकाशन गर्यो । कालो धन, अवैध धन जेसुकै भएपनि गलत बाटोबाट अर्बौ धन ल्याउदैछन् भन्ने कोर्णबाट समाचार प्रकाशन गरिहेको कान्तिपुर जस्तो मिडिया अन्ततः अदालको अन्तरिम आदेश पछि मौनतामा उभियो ।

भनेपछि हाम्रो नेपालमा यस्ता खाले घटना हुनुका पछाडि के कति कम्जोरीहरुले साथ दिईरहेका छन ? कि हाम्रो न्यायलय नै अन्यायलयमा परिणत हुँदैछ ? कि हामी मिडिया कर्मीहरुसँग सत्य तथ्य र निपश्क्ष बन्ने क्षमता छैन् ? कि हामी कसैको दवाफमा कलमको दुरपयोग गरिरहेका छौँ ? कि हामी नै दोषि छौँ ? कि हामी सस्तो लोकप्रियताको खादा ओड्नको लागि पत्रकारिता गर्दैछौँ ? पत्रकारीता त देश र जनताको पक्षमा हुनुपर्ने हो । पत्रकारिता त सत्य, तथ्य र निश्पक्ष हुनुपर्ने हो । क्षमादान माग्दै गलत सूचना सम्प्रेशण गर्नेदिनहरुको आयू कति दिनसम्म टिक्छ ?

अन्त्यमा, भुतको रिपोर्टले उक्त घरको फरक कहानि बाहिर आएको कुरा कसैले भूल्नु हुँदैन । आफै झ्यालका सिसा फुटाउने । आफै पत्रकार बोलाउने । गैरजिम्मेवार नागरिहरुको चालवाजिको पर्दाफास भएको छ । हल्लामा सल्ला ढाल्नु हुँदैन । हाम्रो देशमा सर्प पनि मर्छ । लट्ठी पनि भाचिन्छ । सूचना पनि चाहिन्छ । सत्य पनि हुनुपर्छ । विषय भेटिसेपछि कारण पनि भेट्नुपर्छ । भूतप्रेतको उक्त रिपोर्टले धेरै बालबालिका र महिलाहरु भयभित बनेका छन् । हामी आश्वस्त पार्न सक्छौँ। यस्ता रिपोर्टहरु वाईयात हुन । सस्तो लोकप्रियताका लागि हुन । हल्लाको पछि लाग्नु हुँदैन । अन्धविश्वासको आयू उहीले नै सकिएको हो ।

यो मन्थन पत्रकार भएर पत्रकारको बिरोध होइन । पत्रकारले पत्रकार हुनुपर्छ भन्ने आह्वान हो । पत्रकारले पत्रकारिताका मूल्यहरुको मूल्य थाह पाउनु पर्छ भन्ने आग्रह हो । यहि मान्यता पत्रकारहरुले अंगाल्ने हो भने समाज सहिबाटोमा जान्छ । ‘कलम बनेर ज्ञान बाढौ, गुलाव बनेर प्रेम’ तथास्तुः



प्रतिक्रिया दिनुहोस्