Logo

प्रदेश नम्बर ६ मा राष्ट्रियसभाको निर्वाचन सम्पन्न



सुर्खेत, २४ माघ । आज बिहान १० बजेबाट शुरु भएको प्रदेश नं ६ को राष्ट्रियसभाको निर्वाचन १ः३० बजे सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हाल्ने काम गरेका थियो ।

क र ख गरी दुईवटा मतदान केन्द्र रहेका थिए । हरियो रङ अंकित क मतदान केन्द्रमा ४० जना प्रदेशसभा सदस्य र रातो रङ अंकित ख केन्द्रमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरेर १९८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

“चुनाव उत्साह र शान्तिपूर्ण तरिकाले भएको छ, दिउँसो ३ बजेसम्म मतदान गर्ने समय भए पनि डेढ घण्टाअघि नै चुनाव सम्पन्न भएको छ, अब ४ बजेदेखि मतगणना शुरु हुन्छ,” मुख्य निर्वाचन अधिकृत पौडेलले भन्नुभयो ।

उहाँका अनुसार चुनावमा नेकपा एमालेबाट प्रदेश सांसद २० र स्थानीय तहका जनप्रतिनिधि ५५, नेपाली काँग्रेसका प्रदेश सांसद छ जना र स्थानीय तह जनप्रतिनिधि ५१, नेकपा माओवादी केन्द्रका प्रदेश सांसद १३ र स्थानीय तहका जनप्रतिनिधि ५२ र राप्रपाको एक प्रदेश सांसदले मतदान गरेका थिए ।

मतदानस्थल जिल्ला निर्वाचन कार्यालय सुर्खेत बाहिर मतदाताभन्दा शुभचिन्तक, समर्थक, कार्यकर्ताको निकै उत्साहपूर्ण सहभागिता रहेको थियो । निर्वाचनको मतपरिणाम भोलि बिहानसम्म आइपुग्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्