Logo

कलैया अस्पतालमा प्रभावकारी सेवा दिन ज्ञापनपत्र



सिमरा, बारा, २५ माघ । कलैया अस्पतालमा सेवा सञ्चालन गर्नका लागि नेपाल विद्यार्थी संघ, बारा र केन्द्रीय समितिले संयुक्तरुपमा जिल्ला अस्पतालका मेसु अनुपमाकुमारी यादवलाई बुधबार एक ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री राजेश रौनियारको नेतृत्वमा गएको टोलीले सो ज्ञापनपत्र बुझाएको छ । केही महिनादेखि अस्पतालमा सेवाग्राहीले प्रभावकारी रुपमा सेवा पाई नरहेको अवस्थालाई मध्यनजर गर्दै सेवा सञ्चालनका लागि दबाब सृजना होस् भन्ने उद्देश्यसहित सो ज्ञापनपत्र बुझाइएको सहमहामन्त्री रौनियारले भन्नुभयो ।

अस्पतालमा औषधि अभाव, प्रयोगशालामा केमिकल अभाव, ठूलो साइजको एक्स–रेको फिल्म अभावका कारण सेवाग्राहीले सो पाउन सकेका छैनन् । अस्पतालमा अभाव रहेका सामान तथा चाँडै पूर्ति गरी जनतालाई छिटो र छरितो सेवा उपलब्ध गराउन सरोकारवालाको ध्यान जाओस् सो ज्ञापनपत्रमा भनिएको छ ।

जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कोही कसैलाई नरहेको हुँदा अस्पतालमा कार्यरत सबैले आफ्नो पदीय दायित्वअनुसार कामकाज अगाडि बढाई निष्ठापूर्वक सेवा प्रवाह गर्नेतिर लाग्नका लागि ज्ञापनपत्रमार्फत आग्रहसमेत गरेका छन् ।

अस्पताल जस्तो संस्थामा कोही कसैबाट राजनीति नहुनु नै राम्रो भएको हुँदा कर्मचारी राजनीतिबाट टाढा नै बस्नुपर्ने जरुरी रहेको नेविसंघद्वारा बुझाइएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

कुनै पनि बहानाबाट सेवालाई अवरोध गरिए त्यसमा नेविसंघ चुप लागेर नबस्ने विज्ञप्तिमा भनिएको छ । मागप्रति सुनवाइ नभए आन्दोलनमा जान बाध्य हुने र त्यसबाट सृजित समस्याको भागिदार स्वयम् अस्पतालका प्रमुख हुने ज्ञापनपत्रमा भनिएको छ ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री राजेश रौनियार, बारा जिल्लाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र यादव, जिल्ला सहसचिव हरिओम साह, सदस्यहरु विनयराज शर्मा र प्रवीण पटेलले हस्ताक्षर गरेको सो ज्ञापनपत्रको बोधार्थ नेविसंघको केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय, बारा र कलैया उपमहानगरपालिकाको कार्यालयलाई दिइएको सहमहामन्त्री रौनियारले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्