Logo

ललितपुर बलात्कार काण्ड: ‘फैसला’ उल्टियो, आरोपीहरु थुनामा



काठमाडौं २६ माघ । जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीमा परेका तीन आरोपीलाई साधारण तारिखमा छाड्ने ललितपुर जिल्ला अदालतको आदेशलाई बदर गर्दै बिहीबार पाटनको उच्च अदालतले ‘प्राप्त प्रारम्भिक प्रमाणका आधारमा आरोपीलाई पुर्पक्षका लागि तत्काल थुनामा राख्ने’ आदेश दिएको छ ।

उच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दिएको जानकारीमा ‘यो मुद्दाको छिनोफानो नभइकन आरोपीलाई तत्काल थुनामा राख्ने’आदेश अदालतले सुनाएको हो।मुख्य न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याएपछि मूल मुद्दा जिल्ला अदालतमै सुनुवाई हुनेछ। कानूनी प्रावधानअनुसार जिल्ला अदालतको आदेश चित्तनबुझेको अवस्था ‘१७ नम्बरको निवेदनअनुसार’ पुनरावेदन (उच्च अदालत) मा जान सकिन्छ।

ललितपुर भित्री बस्तीकी २१ वर्षीया युवतीलाई करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीका आधारमा ललितपुर गोदामचौरका रघु सिलवाल (३२), विशालध्वज कार्की(२०) र पवन कुवर(२०) लाई थुनामा राखिए पनि जिल्ला अदालतले ‘किटानीमा दरो प्रमाण नभएको’ भन्दै एक महिनापछि थुनामुक्त गरिदिएको थियो।

हातखुट्टा भाँचिएको र टाउको समेत फुटेको अवस्थामा गत मंसिर ३ गतेको बिहान खेतबारीमा भेटिएकी युवतीको अस्पतालमा ७ दिनपछि मात्रै होस आएको थियो। होस फिरेपछि लिइएको बयान र किटानी जाहेरी आधारमा आरोपी पक्राउ गरिएपछि गत पुस २४ गते पाटन जिल्ला अदालतमा नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता राम घिमिरेले अभियोगपत्र प्रस्तुत गरेका थिए। यो प्रकरणमा तीन प्रतिवादीका तर्फबाट पूर्वमहान्याधिवक्ता रमण श्रेष्ठसहितले वकालत गरेका थिए।

पीडित युवतीको शरीरमा पाइएको बीर्य, रौं, रगतसहितको १६ वटा ‘यथेष्ट प्रमाण’को विधी विज्ञान परीक्षण नआइकन जिल्ला अदालतले आरोपीलाई रिहा आफैंमा सन्देहास्पद बनेको थियो। पीडित युवती अहिले पनि पिसाब र रगतमा देखिएको संक्रमणका कारण अस्पतालमा उपचाररत छिन्।

पाटन तथा शिक्षण अस्पतालमा समेत गरेर एक महिनाभन्दा लामो समय उपचारमा रहँदा ३ लाख रुपैंयाँभन्दा बढी खर्च भइसकेकाले आर्थिक भरथेग पाउनका लागि हिंसापीडित युवतीका श्रीमान्‌ले प्रधानमन्त्री कार्यालयमा आइतबार निवेदन दिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिंसापीडित महिलालाई आवश्यक सहयोग उपलब्ध गराउने बचन दिएका छन्। पीडित युवतीको अवस्था बुझ्न र आवश्यक सहयोग जुटाउन महिला नेतृ हिसिला यमी बिहीबार अस्पताल पुगेकी थिइन्। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्