Logo

पार्टी एकताका बाँकी विषय टुंगो लगाउन ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता आज



काठमाडौं ५ फागुन ।
प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी विषय टुंगो लगाउन शनिबार छलफल गर्दै छन् ।

दुई नेताबीचको छलफलबाट एकताको बाँकी विषयमा मोटामोटी समझदारी जुट्ने र त्यसपछि पार्टी एकता संयोजन समिति बैठकबाट निर्णय गर्ने तयारी छ ।

एकताका विषयमा दुई पार्टीबीच ९५ प्रतिशत टुंगो लागिसकेको बताइए पनि सैद्धान्तिक–वैचारिक विषय र संगठनात्मक स्वरूपमा सहमति हुन बाँकी छ । यी दुवै विषयमा समझदारीसँगै एकता टुंगिएपछि सरकारमा सामेल हुने माओवादीले अडान राखेको छ ।

‘केही वैचारिक र राजनीतिक विषयमा छलफल आवश्यक देखिएकाले दुवै अध्यक्षले शनिबार थप छलफल गरेपछि एकता संयोजनको बैठक बस्नेछ,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘बिहीबार प्रधानमन्त्री नियुक्ति र शपथग्रहण, शुक्रबार छुट्टी पनि भएकाले दुवै पक्षबीच अनौपचारिक र औपचारिक छलफल हुन सकेको छैन, एक–दुई दिनभित्र सबै विषय टुंगिएपछि मात्र सरकारको सहभागितामा पनि निर्णय हुन्छ ।’

मन्त्रिपरिषद् विस्तारको तयारी
प्रधानमन्त्री ओली माओवादीसँग पार्टी एकता र शक्ति बाँडफाँड टुंगिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा छन् ।

अहिलेसम्म शक्ति बाँडफाँडबारे ठोस प्रस्तावसहित कुराकानी नभएकाले पहिले प्रचण्डसँग एकताका बाँकी विषय र शक्ति बाँडफाँडमा केन्द्रित रहेर छलफल गर्ने योजनामा प्रधानमन्त्री देखिएका हुन् । पार्टी एकतासँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, मन्त्रालयको भागबन्डा टुंगिएपछि मात्र सरकारमा सहभागी हुने माओवादीको मनस्थिति छ ।

‘पहिले उहाँहरूबीच कुराकानी टुंगिएपछि मात्र मन्त्रिपरिषद् विस्तारको सम्भावना छ । कुराकानी बाँकी नै छ,’ प्रधानमन्त्री ओलीका पूर्वराजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘अध्यक्ष–अध्यक्षबीच बसाइमा विषयहरू टुंगिएपछि दुवै पार्टीको टिम बस्छ, त्यसपछि मात्र सबै कुराहरू क्रमशः अघि बढ्नेछन् ।’

गत बुधबार बसेको पार्टी एकता संयोजन समिति बैठकमा एमालेले एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद नै हुनुपर्ने अडान राखेकाले छलफल लम्बिएको माओवादीले दाबी गर्दै आएको छ ।

तर, एमालेले भने नेतृत्व र वैचारिक कार्यदिशा टुंगो लागिसकेकाले थोरै विषय मात्र टुंगो लाग्न बाँकी रहेको बताइरहेको छ ।

दुई अध्यक्षबाहेक बाँकी शीर्ष नेताहरूको व्यवस्थापनसहित स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीको स्वरूपबारे भने संयोजन समितिमा औपचारिक छलफल हुन सकेको छैन । यी सबै विषय नटुंगिएको भन्दै माओवादी केन्द्रले तत्काल मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट मन्त्रीहरूको नाम दिन अस्वीकार गरेको थियो ।

माओवादी अध्यक्ष प्रचण्डले कसको नेतृत्वमा सरकारमा पठाउने भन्नेबारे पार्टीमा औपचारिक छलफल गरेका छैनन् । माओवादी तत्काल सहभागी हुन इच्छुक नदेखिएकाले प्रधानमन्त्रीले पार्टीका पदाधिकारी तहका कोही पनि नेतालाई बिहीबार मन्त्रीपदमा शपथग्रहण गराएनन् ।

एकता र सरकारमा प्याकेज समझदारी : प्रचण्ड
माओवादी अध्यक्ष प्रचण्डले एमालेसँगको प्याकेज समझदारीपछि सरकारमा सहभागी हुने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौँ राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन् ।

सरकारमा माओवादी केन्द्र सहभागी नभएको विषयमा विभिन्न टीकाटिप्पणी भए पनि सरकार र पार्टी एकताका विषयमा प्याकेजमै सहमति गर्ने गरी एमालेसँग छलफल चलिरहेको उनले जानकारी दिए ।

‘सरकार गठनको प्रक्रियामा सहभागी नभएको प्रश्न पनि उठेको छ,’ प्रचण्डले भने, ‘तर, हामी पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि विभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौँ ।

अहिले सकारात्मक छलफल सुरु भएको छ ।’ पार्टी एकता प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताउँदै उनले अधिकांश विषयमा सहमति भएको र केही विषयमा छलफल बाँकी रहेको जानकारी दिए ।

वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउँदै प्रचण्डले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

सरकार गठनको प्रक्रियामा सहभागी नभएको प्रश्न पनि उठेको छ । तर, हामी पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि विभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौँ । अहिले सकारात्मक छलफल सुरु भएको छ ।
नयाँपत्रिकामा खबर छ ।



प्रतिक्रिया दिनुहोस्