Logo

प्रचण्डलाई कसले दियो एकता रोक्न प्रलोभन र धम्की ?



काठमाडौं ६ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रलोभन र धम्की दिएर प्रतिक्रियावादीले वाम गठबन्धन फुटाउने प्रयास गरिरहेको बताएका छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग शनिबार करिब एक घण्टा पार्टी एकताबारे छलफल गरी महोत्तरी पुगेका दाहालले त्यहाँ आयोजित कार्यक्रममा एकताका अवरोधबारे मुख खोलेका हुन् ।

‘पार्टी एकता र वाम गठबन्धनको कुरा गरेदेखि नै पार्टी एकता हुन नपाओस्, वाम गठबन्धन सफल नहोस्, मुलुकले विकास निर्माणको गति नलेओस् भनेर प्रतिक्रियावादी र दक्षिणपन्थी लागेका थिए,’ महोत्तरीको हात्तीलेटामा आयोजित पार्टी प्रवेश कार्यक्रममा दाहालले भने, ‘निर्वाचनमा दुईतिहाइ बहुमत ल्याएपछि कहिले माओवादीलाई त कहिले एमालेलाई धम्की र प्रलोभन दिएर फुटाउने कसरत भइरहेको छ ।’

दाहालले यस्ता षड्यन्त्रहरूमा आफूहरू कोही पनि नफसियोस् भनी कामना गरिरहेको बताए । ‘एउटा ऐतिहासिक मिसन पूरा गर्नुपर्छ । हाम्रा अग्रजहरूले देशको क्रान्तिको सुरुवात गरेका थिए, क्रान्तिका ती सपना बीचबाटोमै तुहाउने काम नहोस्,’ दाहालले भने । मुलुकलाई समृद्ध बनाउन वाम गठबन्धनलाई जसरी पनि सफल बनाउने दिशामा आवाज उठाउनु जरुरी रहेको उनले बताए ।

इतिहासले आफूलाई युद्ध, शान्ति, जनवादी क्रान्ति र अब समाजवादी नेतृत्व गर्ने अवसर दिएको भन्दै त्यसलाई खेर जान नदिने दाहालले उल्लेख गरे । ‘मैले धेरै घुम्ती पार गरेर नयाँ अभियान सृष्टि गर्ने अवसर प्राप्त गरेको छु,’ उनले भने ।

एमाले र माओवादीबीच एकताको विधिमा सहमति नहुँदा सरकार विस्तारमा अलमल भएको छ । माओवादीले एकताको विधि तयार नहुँदासम्म सरकारमा सहभागी नहुने जनाएको छ । पार्टी एकतापछि अध्यक्ष र प्रधानमन्त्रीसमेत आलोपालो गर्नुपर्नेलगायत विषयमा माओवादीले प्याकेजमा सहमति हुनुपर्ने अडान राख्दै आएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्