Logo

एमाले र माओवादीबीच आज पार्टी एकता बैठक, नेताको व्यवस्थापन कठिन



काठमाडौं ६ फागुन । एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो । छलफल सकारात्मक दिशामा अघि बढेको दुवै पक्षका नेताहरूको दाबी छ ।

शनिबार प्रधानमन्त्रीको निजी निवास बालकोटमा ओली र प्रचण्डबीच ‘वन अन वन’ वार्तापछि दुवै नेताबीच आज  एकता संयोजनको बैठकबाट सबै विषय टुंगो लगाउने गरी छलफल गर्ने समझदारी भएको छ । ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेताबीच समग्र विषयमा भएको छलफल सकारात्मक रहेकाले एकता संयोजनको बैठकमा प्याकेज छलफल गर्ने समझदारी भएको छ ।

 

 

प्रधानमन्त्री ओली र प्रचण्डबीचको समझदारीअनुसार एकता संयोजनको बैठकमा पार्टी एकताका बाँकी विषय, मन्त्रिपरिषद् भागबन्डालगायत सबै मुद्दामा छलफल हुनेछ । सैद्धान्तिक–वैचारिक विषय र नेतृत्व करिब टुंगो लागिसकेकाले एकीकृत पार्टीको सांगठनिक स्वरूपका विषयमा संयोजन समितिमा छलफल हुनेछ । दुवै अध्यक्षबीच अन्तरिम कालका लागि सकभर दुई अंकको केन्द्रीय कमिटी र छरितो स्थायी समिति बनाउने दिशामा छलफल भए पनि औपचारिक छलफल भएको छैन । तर, सरकारमा दुवैले आलोपालो नेतृत्व गर्ने समझदारी भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्