Logo

फागुन ७ अर्थात् प्रजातन्त्र दिवस : राष्ट्रपति प्रधानमन्त्रीले के भने ?



काठमाडौँ ७ , फागुन । फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । ६८ वर्ष पहिले १०४ वर्ष निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको थियो । भारतमा निर्वासित जीवन व्यतीत गरिरहनुभएका तत्कालीन श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेव फागुन ४ गते स्वेदश फर्की फागुन ७ गतेका दिन १०४ वर्षदेखि शासन गर्दै आएको राणा शासन अन्त्य गरी जनताको लागि जनताले नै शासन गर्न जनप्रतिनिधिको संविधान परिषद् गठन गर्ने घोषणा भएको थियो ।

भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको मध्यस्थतामा भएको राजा, राणा र नेपाली काँग्रेसबीच मुलुकमा प्रजातान्त्रिक व्यवस्था ल्याउने सहमतिअनुसार राजा त्रिभुवन स्वदेश फर्कनुभएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते ठूलो हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाउने गरिन्छ । यो दिन सरकारले सार्वजनिक बिदा समेत दिँदै आएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ६८औँ प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले दिनुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, ‘आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् । ’ प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा २००७, २०४६ र २०६२÷६३ सालमा सफल आन्दोलनहरू भएको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले ती सबै आन्दोलनका प्रतिबिम्बित जनइच्छाअनुसार नै हामी गर्वका साथ सङ्घीय लोकतान्त्रिक संविधानसहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेका छौँ भन्नुभयो ।

राष्ट्रपति भण्डारीले उपलब्धिको मूल्याङ्कन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात गरी अगाडि बढ्नु साझा जिम्मेवारी र दायित्व भएको बताउनुभयो । राष्ट्रपतिले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात÷अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण समेत गर्नुभएको छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार जारी गर्नुभएको शुभकामना सन्देशमा देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । साथै, उहाँले दिवसका अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

सन्देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार देशमा विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्