Logo

बीस वर्षदेखि ओढारको बास



काठमाडौं ८ फागुन ।
रूपसिंह चेपाङ। उमेर ७६ वर्ष। आफ्नो नाममा जग्गा शून्य। २० वर्षदेखि ओढारवासी।चितवनको राप्ती नगरपालिका- १३, युर्तीस्थित ओढारमा बस्दै आएका एक जना वृद्ध चेपाङको परिचय हो यो। करिब १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि उनी एक्ला भए। त्यसपछि सहाराविहीन छन्।

उनी बस्ने ओढारनजिकै छोरीको घर छ। त्यो पनि ‘जनता आवास’ कार्यक्रमले बनाइदिएको। त्यसबाहेक वरिपरि कसैको घर छैन। एक्ला र अशक्त छन् तर छोरीको घरमा बस्न चाहँदैनन्। खानेकुरा भएको बेला तिनै छोरीले पकाएर ओढारमै लगिदिन्छिन्। नभएको बेला खोकिलामा हात हाल्छन्, भोकै बस्छन्। ‘कसैले ल्याएर दियो भने छोरीले मलाई पनि पकाएर ल्याइदिन्छिन्, नत्र उनीहरू नै भोकै पर्छन्, म बूढोले कहाँबाट पाउनु ? ’ उनले भने।

यसपालि पनि उनले त्यहीं जाडो काटे। न ओढ्ने छ न त आङ छोप्ने एकधरो कपडा। जाडो गएर के गर्नु, फेरि बर्खा लागिहाल्छ। वर्षा सुरु भएपछि पानी रसाउँदै आउँछ, ओढारमा।

शरीर निकै गलिसकेको छ। ओढारबाट निस्केर हिँडडुल गर्न पनि सक्दैनन्। धुनी तापेकै भरमा रात कटाउँछन् उनी। धेरै दिनसम्म केही खान नपाएपछि भोक सहन सक्दैनन्, अनि भोक टार्न त्यही खरानी खान्छन्।

उनलाई विभिन्न रोगले गाँजेको छ। उपचारको त के कुरा गर्नु ! अहिलेसम्म अस्पताल र डाक्टर देख्नै पाएका छैनन्। दुईवटै खुट्टाको घुँडा दुख्दा पनि खरानी नै दल्छन्। भन्छन्, ‘आगो र खरानी भनेको त भगवान् हो। मलाई यसैले बचाएको छ।’ चिसोले टाउको दुख्दा पनि निधारमा खरानी घस्छन्। त्यसो गर्दा निको हुन्छ भन्ने उनको बुझाइ छ।

ओढारको चिसो ढुंगा नै उनको नियमित ओछ्यान बनेको छ। आँखा पनि कमजोर बन्दै गएको छ। राम्रोसँग देख्न सक्दैनन्। दाहिने आँखाबाट जति आँसु चुहिएको छ, त्योभन्दा बढी देब्रे आँखाबाट रगत बगिरहेको छ। तर, उनको यो कहालीलाग्दो व्यथा कसले सुनिदिने ?

चिसोले ओठ सुकेको छ। तैपनि, आगोको भरमा रात काट्नुपरेको छ। तर, कुटुम्बको घरमा बस्न नहुने भन्दै छोरीको घरमा जाँदैनन्। ‘अहिलेसम्म त ओढारमै बसेर बिताएँ। अब मर्ने बेला कुटुम्बको घरमा कसरी बस्नु ? ’ उनले भने, ‘मलाई त यही ओढार प्यारो छ।’ तर, उनलाई कसैले आएर सानोतिनो झुप्रो बनाइदिए जीवनको अन्तिम क्षणमा आरामको सास फेर्दै मर्ने धोको छ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्