
काठमाडौं ९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमाले र माओवादी केन्द्रबीच एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने भनिएकोमा आश्चर्य प्रकट गरे ।
आज प्रकाशित नयाँ पत्रिका दैनिकबाट उनको भनाई जस्ताको तस्तै–
नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका हौँ । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै राख्ने सहमति गरेको मैले पनि सुनेको छु ।
उहाँहरूले पनि दल दर्ता गर्ने त निर्वाचन आयोगमै होला । सडकमा दर्ता गरेर त दल बन्दैन होला । सत्ताको दबाबमा आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिन्छ भन्ने मलाई लाग्दैन । त्यसो भयो भने हामी जाने अदालतमै हो ।
हाम्रो र उनीहरूको पार्टीको विचार नै मिल्दैन । त्यसैले एकताको कुनै सम्भावना नै छैन । तर, यतिखेर हामीलाई बडो अचम्म लाग्या छ । जो विचारमा कम्युनिस्ट नै छैन, उसलाई किन कम्युनिस्ट पार्टी नाम चाहिएको हो ? तर, उनीहरूलाई चाहियो भन्दैमा हामीले दिने कुरै छैन ।