Logo

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते



काठमाडौं १० फागुन ।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ अधिवेशन सुरु हुने अघिल्लो दिन फागुन २० मा गराउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ का निम्ति संघीय संसद्‍को अधिवेशन आहवान गरिसकेकी छन् ।

सचिवालयका प्रवक्ता भरत गौतमले एकै दिन फरक–फरक समयमा दुवै सभाको शपथ कार्यक्रम तय गरिएको बताए । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य छन् । कानुनअनुसार दुइटै सभाको सुरुको अध्यक्षता सम्बन्धित सभाका ज्येष्ठ सदस्यले गर्नेछन् । आयोगको सूचीअनुसार प्रतिनिधिसभामा राजपाबाट निर्वाचित सर्लाही–२ का सांसद महेन्द्र राय यादव सबैभन्दा ज्येष्ठ छन् । नागरिकताअनुसार उनी ८० वर्षका भए । यादव निकटका अनुसार नागरिकतामा भएका त्रुटिका कारण मात्रै उनको उमेर बढी देखिएको हो । ‘वास्तवमा उनी ६६ वर्षका मात्रै हुन्,’ तिनले सुनाए, ‘तर उनी सभाको अध्यक्षता गर्न इच्छुक छन् ।’

संसद् सचिवालयले कुनै कारणले यादवले सभाको अध्यक्षता गर्न अस्वीकार गरेको खण्डमा अन्य नामको सूची पनि तयार राखेको छ । त्यसअनुसार दोस्रो नाम राजपाकै अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हो । महोत्तरी–३ बाट निर्वाचित ठाकुर ७५ वर्षका हुन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा ज्येष्ठ देखिएका छन् । देउवाको उमेर ७२ हो । उनी डडेलधुरा–१ बाट निर्वाचित हुन् ।

५९ जनाको राष्ट्रिय सभामा एमालेबाट निर्वाचित ६९ वर्षीय हरिचरण शिवाकोटी र त्यही उमेरका कांग्रेसका तारादेवी भट्ट सबभन्दा ज्येष्ठ देखिएका छन् । तेस्रो नाम कांग्रेसकै ६८ वर्षीय राधेश्याम अधिकारीको हो । सांसदलाई शपथ गराउनुअघि दुवै ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने छ ।

प्रवक्ता गौतमले शपथ कार्यक्रममा सहभागी हुन सार्वजनिक सूचना आहवान गरिसकिएको बताए । प्रतिनिधिसभा निर्वाचन ऐन र राष्ट्रिय सभा निर्वाचन अध्यादेशको अनुसूचीमा शपथको व्यहोरासहित ढाँचा व्यवस्था छ । कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा अनुवाद गराएर तीन दिनअगावै संसदका महासचिवलाई उपलब्ध गराउनुपर्ने नियम छ ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्