Logo

पयर्यटकीय क्षेत्रको अध्ययन शुरु, थिमिलाई जीवित संग्रहालय बनाइने



भक्तपुर, ११ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भक्तपुरको मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाको पर्यटकीय सम्भाव्यताको अध्ययन शुरु गरेको छ ।

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा नेतृत्वको टोलीले भक्तपुरका दुई नगरपालिका सूर्यविनायक र मध्यपुर थिमिलाई सांस्कृतिक शहरका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्भाव्यता अध्ययन शुरु गरेको हो ।

सम्भाव्यता अध्ययनका क्रममा टोलीले मध्यपुर थिमीको विविध सांस्कृतिक झाँकी, नीलबाराही मन्दिर क्षेत्र, लायकु दरबार क्षेत्र, थिमिको पोटरी स्क्वायर क्षेत्रको अवलोकन गरेको छ । त्यस्तै सूर्यविनायकको रानीकोट दरवार, अनन्तलिङगेश्वर, डोलेश्वर, आशापुरी मन्दिर क्षेत्रकोसमेत अध्ययन गरेको छ ।

ऐतिहासिक महत्व राख्ने मध्यपुर थिमी र सूर्यविनायकको धार्मिक एवं सांस्कृतिक सम्पदाका साथै प्राकृतिकस्थलको संरक्षण, संबद्र्धन र प्रवद्र्धन गरी अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवद्र्धन गर्दै समृद्ध नगरपालिका बनाउन सकिने सम्भावना रहेको मन्त्रालयका सचिव देवकोटाले बताउनुभयो ।

पर्यटन सम्भाव्यता अध्ययन टोलीमा सहभागी हुनुभएका भक्तपुरका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दुई नगरपालिकालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट विशेष प्याकेज बनाएर पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो । मध्यपुर थिमिलाई संस्कृतिको जीवित संग्रहालय बनाउने गरी कार्य अगाडि बढाइएको उहाँको भनाइ छ ।

बस्नेतले भन्नुभयो–“पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको मध्यपुर थिमिलाई जीवित संग्रहालयको रुपमा विकास गरिने छ, यहाँका ऐतिहासिक, धार्मिक विषय, सम्पदा, नाच, मौलिकतालाई समेटेर जीवित संग्रहालय बनाउने छौ ।”

सम्भाव्यता अध्ययन टोलीमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, प्रदेश नं ३ का प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठलगायतको टोलीले पर्यटकीयस्थलको अवलोकन अनुगमन गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्