Logo

पढाइका लागि वकालत अभियान



नेपालगञ्ज, १२ फागुन । बाँके जिल्लाका सबै ३६० विद्यालय, मदरसा र गुरुकुलमा सञ्चालित प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी हुँदै गएको छ । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा सुधार ल्याउने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत ६७८ टोल पढाइ समूहसमेत गठन गरिएको छ । ती समूहमा बालबालिकाका अभिभावक र समुदायका अगुवा व्यक्तिलाई समेटिएको छ ।

समूहले विद्यालय समयपछि बालबालिकालाई नचाहिँदो गतिविधिमा संलग्न हुन नदिन रचनात्मक कामको सिकाइका लागि उनीहरुलाई सहभागी बनाउने गरेको सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले बताउनुभयो ।

सरकारको सो कार्यक्रमको समन्वय जिल्लामा जिल्ला शिक्षा कार्यालयले तथा कार्यक्रम सञ्चालन बाँके युनेस्को क्लबले गर्दै आएका छन् । स्थानीय तह गठनपछि भने कार्यक्रममा ती निकायलाई समेटिएको क्लबका अध्यक्ष परवेजअलि सिद्धिकीले जानकारी गराउनुभयो ।

सोही कार्यक्रमअन्तर्गत शुक्रबार खजुरा गाउँपालिकाको इ–गाउँमा पढाइका लागि वकालत अभियान सञ्चालन गरिएको थियो । सो गाउँपालिका वडा नं ४ अन्तर्गतका चार विद्यालयका अभिभावक, समुदायका व्यक्ति, नागरिक समाजका अगुवा र जनप्रतिनिधिलाई समेटिएको छ ।

प्रारम्भिक कक्षा पढाइको वकालत अभियानअन्तर्गत विद्यालयलाई पाठ्य तथा खेलकुद सामग्री उपलब्ध गराइएको छ । त्यसैगरी टोल पढाइ समूहलाई पनि रु पाँच हजार र भौतिक सामग्री प्रदान गरिएको वडा अध्यक्ष तिलकवीर सुनारले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्