Logo

विद्यालय क्षेत्रलाई प्लाष्टिक मुक्त बनाउन यूवाहरुको आव्हान-फोटो फिचर



काठमाडौं, १३ फागुन । नेपाल रेडक्रसमा आवद्ध देशभरीका जुनियर तथा युवाका प्रतिनिधिहरुले दीगो विकासका लक्ष्यहरु परिपूर्ती गर्न विशेष पहल गर्ने घोषणा गरेका छन् । घोषणापत्रमा भनिएको छ । विद्यालय क्षेत्रलाई प्लाष्टिक मुक्त बनाउन जुनियर तथा युवा रेडक्रसबाट विशेष पहल गरिने छ । ४८ जिल्लाबाट १६८ प्रतिनिधिहरुको सहभागितामा कैलालीको टिकापुरमा आज सम्पन्न ३८ औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस भेलाले टिकापुर घोषणपत्रमार्फत् सो आव्हान गरेका हुन् ।

हरेक जुनियर तथा युवा सदस्यबाट बार्षिक रु। पाँच सङ्कलन गर्ने अभियानलाई विस्तार गर्ने, र गतिविधिहरु दिगो रुपमा सञ्चालन गर्न स्थानीयस्तरमा आर्थिक सङ्कलनका उपायहरु खोजी गर्ने लगायतका सहमतिहरु भेलाले गरेको छ । कर्णाली माबि, टीकापुरको को आतिथ्यमा दुईदिनसम्म सञ्चालित सो भेलाले जुनियर तथा युवाको संगठन विकासलाई पनि थप प्रभावकारी वनाउन समय मै सर्कल गठन तथा पुनर्गठन गरी प्रभावकारी बार्पिक कार्यक्रमहरू सञ्चालन गर्न युवा विद्यार्थीहरुलाई उत्प्रेरणा दिएको नेरेसोका सञ्चार प्रमुख दिव्यराज पौडेलले बताउनुभयो ।

दिगो विकासका लक्ष्य र रेडक्रसमा जुनियर युवाको भूमिका, अन्तर्राष्ट्रिय मानवीय कानुन र जुनियर युवाको भूमिका, विद्यालयमा आधारित सरसफाइ, लैंगिक विभेद एवं बाल संरक्षण, विपद् व्यवस्थापन, प्रथामिक उपचार, स्वयंसेवक व्यवस्थापन र नेतृत्व विकास विषयहरुमा सैद्धान्तिक कक्षा एवं व्यवहारिक अभ्यास भेलाका प्रमुख आकर्षण रहेका थिए ।

म सेवा गर्छु भन्ने मूल मन्त्रलाई आत्मासात गर्दै नेपाल रेडक्रस सोसाइटीको महत्वपूर्ण अंगको रुपमा अगाडि बढिरहको जुनियर युवा रेडक्रस अन्तर्गत ६ हजार ३ सय ४० सर्कलका ७ लाख ८ हजार ६ सय १० जना सदस्यहरु मानवीय सेवामा संलग्न छन् ।

यस अघि हिजो जुनियर तथा युवा रेडक्रसको ३८ औं राष्ट्रि«य गोष्ठीको सुभारभ्भमा र्याली तथा मञ्चको कार्यक्रम आयोजना गरिएको थियो । यसै क्रममा विद्यालय परिसरमा रेडक्रसका अध्यक्ष लागयत केन्द्रीय पदाधिकारी, कर्मचारी र सहभागी जिल्लाका प्रतिनिधिहरुले बृक्षारोपण गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय जुनियर तथा युवा रेडक्रस समितिका सभापति सपूतबहादुर कार्कीको सभापतित्वमा सञ्चालित भेलाको समुद्घाटन हिजो नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सँजीव थापाले गर्नुभएको थियो । नेपाल रेडक्रसले मानवीय सेवाका लागि सञ्चालन गर्ने राष्ट्रिय अभियानमा जुनियर तथा यूवा स्वयंसेवक र सदस्यहरुले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका बताउँदै उहाँले जुनियर तथा युवा सदस्य र शिक्षक नायकहरुको योगदानको स्मरण गर्नुभयो ।

कार्यक्रममा सोसाइटीका उपाध्यक्ष सुरेन्द्र सिं ऐर, महामन्त्री देवरत्न धाख्वा, केन्द्रीय जुनियर तथा युवा रेडक्रस समितिका सभापति तथा सदस्यहरु, केन्द्रीय जुनियर तथा युवा रेडक्रस विभागका प्रमुख सुदर्शन अधिकारी, ७ नं प्रदेश सभाका सदस्यहरु रणबहादुर रावल र उमादेवी बादी, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, आइसीआरसीका नेपालस्थित प्रतिनिधि प्रमेश पौडेल, रेडक्रसको अन्तराष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किम, नेरेसो कैलाली जिल्ला शाखाका सभापति एवं केन्द्रीय सदस्य उत्तम जोशी, कर्णाली माविका सर्कल अध्यक्ष बलराम परियारलगायतको सहभागिता रहेको थियो ।

जुनियर युवा गतिविधिहरुलाई अझ परिस्कृत र प्रभावकारी बनाउन नेपाल रेडक्रसले यसै वर्ष जुनियर युवा नीतिमा परिवर्तन गरी सरकारको शिक्षा नीतिअनुरुप समायोजन गर्न लागेको रेडक्रसका जुनियर युवा समितिका केन्द्रीय सभापति सपूतबहादुर कार्कीले जानकारी दिनुभयो ।

विभिन्न पुरस्कारहरु प्रदान

गोष्ठी समापन अवसरमा एक जुनियर एक युवा रु। ५ अभियान कार्यक्रम अन्तरगत गत वर्ष उच्च रकम संकलन गर्ने जिल्लाहरुलाई प्रशंसा पत्र र ट्रफ्री प्रदान गरिएको छ । राष्ट्रिय स्तरमा बिभिन्न जिल्लामार्फत् सम्पन्न निबन्ध, कविता, चित्रकला, नेतृत्व विकाससम्बन्धी प्रतियोगिताका विजयीहरुलाई पुरस्कार, प्रमाण पत्र र राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने क्रमशः संखुवासभा, रुपन्देही, कास्की र खोटाड जिल्ला शाखाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्