Logo

कांग्रेस युवा नेताहरूले भने–‘देउवा बन्नै हुन्न दलको नेता’



काठमाडौं १६ फागुन ।  कांग्रेस सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता बन्न अग्रसर बनेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाइरहेका नेता तथा कार्यकर्तामा आक्रोश बढेको छ । देउवा आफैं प्रतिस्पर्धामा आउँदा संसदको अंकगणितले उनी दलको नेता बन्ने सम्भावना भने छ ।

‘तर, पार्टीले नराम्रो क्षति व्यहोर्नुपर्ने छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलको भनाइ छ, ‘तीनै तहको निर्वाचनमा पार्टी हार्दा जिम्मेवारीबोध गर्दै पार्टी सभापतिले नेतृत्व छाड्नुपर्ने हो। उल्टो थप जिम्मेवारी लिने कुरा स्वाभाविक मान्न सकिन्न।’

प्रदीपलगायत कांग्रेसका युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, कल्याण गुरुङलगायतले पार्टीलाई सुधार्न नेतृत्व परिवर्तनको मुद्दा निरन्तर उठाउँदै आएका छन्। तर, देउवा नेतृत्व परिवर्तनको मुद्दा निस्तेज बनाउन दलको नेता आफैं बन्ने दौडमा छन्।

देउवालाई दलको नेता बन्न दिन नहुने पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षीय नेताहरूसमेत छन्। तर, संसदको अंकगणितमा देउवा बलिया देखिन्छन् भने पौडेल पक्ष कमजोर छ। स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा पार्टीको ‘लज्जास्पद’ हारलाई पौडेल समूहले वाम गठबन्धनभन्दा पार्टी सभापति देउवाको कार्यशैली र भूमिकालाई प्रमुख कारण ठान्दै आएको छ। पौडेलले आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा देउवालाई सम्बोधन गर्दै प्रस्तुत गरेको पाँच पृष्ठको दृष्टिकोण पत्रसमेत यसैमा केन्द्रित छ।

‘तपार्इंले शेरबहादुर जिन्दावाद भनेर सिकाउनुभयो, कांग्रेस जिन्दावाद भनेर सिकाउनु भएको रैनछ, आज त्यसको परिणाम निर्वाचनमा देखियो,’ पौडेलको भनाइ थियो, ‘त्यसैले अब तपाईं पार्टीप्रति चिन्तित हुनुहुन्छ भने दोहोर्‍याएर पद ओगट्ने काममा नलाग्नुहोस्। संसदीय दलको नेता अरू कसैलाई बन्न दिनुहोस्। आफ्नो स्वार्थका लागि पार्टी र प्रजातन्त्रलाई जोखिममा राख्ने होइन, पार्टी र प्रजातन्त्रका लागि आफूलाई जोखिममा राख्ने नै निष्ठावान नेता हो।’

नेता चन्द्र भण्डारी कहिलेकाहीं पछि हटेर पनि नेता बन्न सकिने भन्दै देउवालाई दलको नेता नहुन सुझाव दिन्छन्। ‘एक पटक दलको नेता छाडदा देशभर पार्टीमा राम्रो सन्देश जान्छ र पार्टी सभापतिको उचाइ बढ्छ,’ उनले भने, ‘बरु आफ्नो इच्छा लागेका नेतालाई छाडिदिए हुन्छ।’

२०५१ सालको मध्यावधि निर्वाचनमा पार्टी पराजित हुँदा गिरिजाप्रसाद कोइरालाले दोस्रो पुस्ताका नेतालाई ठाउँ छाडिदिएका थिए। कोइरालाको त्यही उदारताका कारण ४९ वर्षको उमेरमै देउवाले प्रधानमन्त्री बन्ने मौका पाएका थिए। ‘०६४ को संविधानसभा निर्वाचनमा एमाले नेता माधव नेपालले पनि जिम्मेवारीबोध गरेर नेतृत्वबाट राजीनामा दिए। अहिले पार्टी सभापति देउवाले पनि त्यस्तै नैतिकता प्रदर्शन गर्न सके पार्टी पुनर्जागृत हुनेछ,’ भण्डारीले भने, ‘पार्टी सभापतिलाई उक्साएर तर काढ्न पल्केकाहरूको सल्लाहले नै पार्टी कमजोर भएको बुझ्न सक्नुपर्छ।’

देउवा पार्टी सभापति र चार पटकसम्म मुलुकको प्रधानमन्त्री बने। तर, शासकीय क्षेत्रमा भने उनी कहिल्यै विवादमुक्त रहेनन्। पछिल्लोपटक तीनै तहका निर्वाचन सम्पन्न गरेर ‘अक्षम’ ट्याग मेट्न सफल भए पनि मुलुकमा सुशासन कायम गर्न भने सकेनन्। पार्टी पराजित हुनुमा मुख्य उनकै कुशासनले काम गरेको पार्टी नेताहरू बताउँछन्।
देउवा संसद्मा विरलै उपस्थित हुन्छन्। उनी कुनै विषयवस्तुमा गहिरो अध्ययन राख्दैनन्। उनले संसदीय दलको नेता बन्न नहुने तर्कमा युवा नेताहरू यो कारणसमेत जोडछन्। ‘कांग्रेसले आफ्नो सशक्त प्रभाव देखाउने संसद्मै हो। त्यसका लागि एकदिन पनि नछाडी संसद्मा बस्नुपर्ने हुन्छ। संसदीय दलको नेताले राष्ट्रिय सभा र प्रदेश संसद्लाई समेत समन्वय गर्नुपर्ने अवस्था छ,’ केन्द्रीय सदस्य गगन थापाले भने, ‘समय र रुचिका हिसाबले पनि संसदीय दलको नेता बन्न पार्टी सभापतिलाई सहज छैन। पार्टीको बृहत्तर हितका लागि पनि उहाँले दोस्रो पुस्तालाई अवसर दिनुपर्छ।’

धेरै समयपछि सरकार दुई तिहाइको बन्दै छ। संघीय समाजवादी फोरम सरकारमा आउनासाथ सरकारको पक्षमा दुई तिहाइ पुग्छ। यस्तो अवस्थामा प्रतिपक्षको भूमिका कमजोर बन्न पुगे कांग्रेसको संगठनमै ठूलो क्षति पुग्ने चिन्ता युवा नेताहरूको छ। ‘यो प्राविधिक रूपमा मात्रै होइन, राजनीतिक रूपमा पनि दुई तिहाइ हो। यस्तो बेला संसद् र पार्टीमा धेरै काम गर्नुपर्ने हुन्छ। कांग्रेसका लागि धेरै चुनौती खडा हुनेवाला छ। यस्तो अवस्थामा पार्टी सभापतिले दलको नेता अर्कोलाई दिँदा उहाँलाई पार्टीमा काम गर्न सहज पनि हुन्छ,’ थापा थप्छन्, ‘सबै कुरा छाडेर पार्टीलाई बलियो बनाउने हो भने संसदीय दलमा अर्को साथीलाई जिम्मा दिनुपर्छ।’

नेतृत्व परिवर्तनको मुद्दामा अग्रसर अर्का नेता धनराज गुरुङ पनि दलको नेता छाडदैमा सभापतिको शक्ति क्षय नहुने भन्दै दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु गर्न सुझाउँछन्। ‘पद लिएर मात्रै नेता भइन्न, कहिलेकाहीं पद त्याग गर्दा पनि नेता बनिन्छ,’ गुरुङले भने, ‘पार्टी सभापतिलाई वास्तविक नेता बनेर देखाउने यो अवसर नछाड्न म आग्रह गर्छु।’ ०५१ सालमा गिरिजाप्रसादले दलको नेता छाडेर पार्टीले चुनावमा हारेको जिम्मेवारी लिएजस्तै देउवाले पनि चुनाव हारेको जिम्मेबारीबोध गर्दै नेतृत्व छाड्नुपर्ने उनको तर्क छ। ‘यो नेता उत्पादन गर्ने अवसर पनि हो तर चाकरीको भाषा बोल्नेहरूले हजुर नै हुनुपर्छ भनेर उक्साउने छन्, तिनीहरूको उद्देश्य पार्टी सभापतिलाई नेता बनाउने नभएर तर मार्ने हो,’ उनले थपे, ‘यो अवसर गुमाउनुहुन्न।’

देउवानिकट नेता बालकृष्ण खाँड भने सभापतिलाई किनारामा धकलेर पार्टीेको हित नहुने बताउँछन्। वरिष्ठ नेता पौडेलसहित केही युवा नेता आक्रामक ढंगले अघि बढिसकेपछि दलको नेतामा पार्टी सभापतिले झनै छाड्न नहुने तर्क खाँडको छ। ‘केन्द्रीय कार्यसमितिको बैठकमै सभापतिविरुद्ध आक्रामक हुन थालेपछि दलको नेता छाड्ने झन् कुरै भएन,’ उनले भने, ‘पार्टी सभापति र संसदीय दलको नेता फरक व्यक्ति हुँदा पार्टीमा झनै द्वन्द्व बढ्छ। त्यसैले दुइटा शक्तिकेन्द्र हुनुहुन्न।’

कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्