Logo

पाकिस्तानका प्रधानमन्त्री अब्बासी ओलीका पहिलो पाहुना !



काठमाडौं १९ फागुन ।
प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो उच्चस्तरीय पाहुनाका रूपमा सोमबार पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीलाई स्वागत गर्दै छन् । प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिन अब्बासी काठमाडौं उत्रिँदैछन् ।

उनी प्रधानमन्त्री ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफल गर्न आउन लागेको बताइएको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई बधाई दिनै पाकिस्तानी समकक्षी अब्बासी काठमाडौं आउन लागेको बताए । भेटमा दुई मुलुकका कार्यकारी प्रमुखबीच दुईपक्षीय सम्बन्धबारे समग्र विषयमा छलफल हुने पनि उनले जनाए ।

२०७१ मंसिरमा काठमाडौंमा आयोजना भएको १८ औं शिखर सम्मेलनपछि सार्कको बैठक हुन सकेको छैन । त्यही बैठकबाट प्रत्येक दुई वर्षमा शिखर बैठक आयोजना गर्ने तय गरिएको थियो । तर, त्यसपछि पाकिस्तानमा हुने तय भए पनि बैठक रोकिएको थियो । भारत प्रशासित उरीमा भएको हमलामा पाकिस्तानको संलग्नता रहेको भन्दै भारतले २०७३ मंसिरमा पाकिस्तानमा डाकिएको सार्क बैठकमा सहभागी हुन अस्वीकार गरेको थियो । त्यसलगत्तै अफगानिस्तान, भुटान र बंगलादेशले पनि बैठकमा भाग नलिने जनाएपछि बैठक स्थगन गरियो ।

अब्बासीको भ्रमणलाई एकथरी भने बधाई र सार्कभन्दा चीन सम्बन्धसँग जोडेर हेर्दैछन् । चीन पाकिस्तानको निकै विश्वासिलो छिमेकीका साथै व्यावसायिक साझेदार मानिन्छ । भारतसँग सम्बन्ध खराब रहे पनि सार्कको पर्यवेक्षक मुलुक चीनसँग पाकिस्तानको निकै राम्रो सम्बन्ध छ । नेपालमा हालै बनेको वाम गठबन्धन सरकारलाई चीन निकट भन्ने गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर ओलीलाई भारत भ्रमणको निम्ता गरेका थिए । त्यही संवादमा ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको समेत भ्रमण गर्ने गरी आउन निम्तो दिएका थिए । त्यसपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले काठमाडौं भ्रमण गरेकी थिइन् । ओली–मोदी भ्रमण आदानप्रदानको चर्चा चलिरहेकै बेला उनीभन्दा अघि अब्बासी आउन लागेका हुन् । नेपाल सार्कको अध्यक्ष राष्ट्र भए पनि यहाँको कर्मचारीतन्त्रले सार्कलाई उपेक्षा गरेको भन्दै राजनीतिक तवरबाटै संवाद थाल्न अब्बासी आउन लागेको एकथरी विज्ञहरूको विश्लेषण छ ।

अब्बासीको भ्रमणलाई आकस्मिक भनिए पनि त्यसको तयारी केहीअघिदेखि नै भएको एक परराष्ट्र अधिकारीले बताए । पाकिस्तानले यस्तो भ्रमण चाहिरहेको भए पनि नेपालले त्यसको चाँजो मिलाएको थिएन । पाकिस्तानस्थित नेपाली राजदूत सेवा लम्साल अधिकारीले यो भ्रमणबारे जानकारी दिन चाहिनन् । परराष्ट्र सचिव र दोस्रो वरीयताका सहसचिव जेनेभा भ्रमणमा छन् ।

परराष्ट्रमा तेस्रो वरीयतामा रहेका कृष्णप्रसाद ढकालले पनि भ्रमणबारे औपचारिक जानकारी दिन सकेनन् । ‘भ्रमण हुने सुनेको छु । शिष्टाचार महापालले काम गरिरहनुभएको होला,’ उनले भने । महापालले पनि भ्रमणको तयारी रहेको तर सबै जानकारी आफूलाई नभएको बताए ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्