Logo

यस्तो बन्दै छ एकीकृत पार्टीको सांगठनिक संरचना



काठमाडौं २० फागुन ।

एमाले र माओवादीले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाबारे छलफल केन्द्रित गरेका छन् । संघीय ढाँचाअनुसार केन्द्रीय कमिटीको आकार र संरचना कस्तो बनाउने भन्ने अनौपचारिक छलफलमा उनीहरू व्यस्त छन् ।

एकीकृत पार्टीको केन्द्रीय कमिटीको आकार १ सय ५० कि ३ सय ५० सदस्यीय भन्नेमा छलफल चलिरहेको कार्यदलका एक सदस्यले बताए । १ सय ५० सदस्यीय नभए अहिलेको एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या थपेर ३ सय ५० सदस्य पुर्‍याउने तर्कमाथि छलफल भइरहेको उनले बताए ।

२ सय ६ लाई ६० प्रतिशत मान्दा माओवादीका तर्फबाट १३७ जना नेता केन्द्रीय कमिटीमा थपिन सक्छन् । २५ फागुनभित्र एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदनसँगै अन्तरिम विधान र सांगठनिक स्वरूपको प्रारम्भिक खाका तयार हुनेगरी दुईवटा छुट्टाछुट्टै कार्यदलले गृहकार्य गरिरहेका छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

राजनीतिक र सांगठनिक खाकापछि एकता घोषणासभा
७ फागुनमा पार्टी एकीकरणका लागि दुई पार्टीबीच भएको सातबुँदे सहमतिअनुसार १० फागुनमा दुई कार्यदल गठन भएका थिए । राजनीतिक कार्यदलमा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपालसहित भीमबहादुर रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, फम्फा भुसाल र देवेन्द्र पौडेल छन् । यस्तै, अन्तरिम विधान र संगठनसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ तथा माओवादीबाट रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र मातृका यादव सदस्य छन् । दुवै कार्यदलले दुई चरणको बैठक सकाएर उपसमितिहरूमार्फत् अनौपचारिक गृहकार्य गरिरहेका छन् । यी दुवै कार्यदलले प्रस्ट खाका बनाइसकेपछि पार्टी एकता संयोजन समितिबाट अनुमोदन गरी एकता घोषणासभाको मिति तय गरिने तयारी छ । नेताहरूले २५ फागुनभित्र खाका तयार गरी ढिलोमा चैतको पहिलो साताभित्र एकता घोषणासभा गरिसक्ने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्