Logo

पाकिस्तानी प्रधानमन्त्री किन आउँदैछन् आज नेपाल ?



काठमाडौं २१ फागुन । पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी दुईदिने नेपाल भ्रमणका सिलसिलामा आज सोमबार अपराह्न काठमाडौं आइपुग्दै हुनुहुन्छ। अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन र सम्मेलनको नयाँ मिति तय गर्ने कूटनीतिक प्रयासका लागि उहाँ नेपाल आउनुहुने भएको हो। नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र भएकाले अब्बासीले नेपाली समकक्षी केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ।

प्रधानमन्त्री ओलीसँग अब्बासीले सोमबार साँझ भेटवार्ता गर्ने नेपालका लागि पाकिस्तानी दूतावासले जनाएको छ। उहाँले भोलि मंगलबार बिहान राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ। आज अपराह्न काठमाडौं आइपुग्ने अब्बासीको सम्मानमा नेपाली सेनाले टुँडिखेलमा सम्मान गारथ ‘गार्ड अफ अनर’ प्रदान गर्ने भएको छ। साँझ प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि उहाँ ओलीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने बताइएको छ।

नेपाल अध्यक्ष राष्ट्रको हैसियतले सार्क शिखर सम्मेलन आयोजना गर्न अनुकूल वातावरण बनाउन आग्रह गर्न पाकिस्तानी प्रधानमन्त्री नेपाल आउन लागेको विश्लेषण हुन थालेको छ । २०७१ मंसिर १०–११ गते काठमाडौँमा सम्पन्न १८ औँ शिखर सम्मेलनमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दुवै देशका प्रधानमन्त्रीको हात मिलाएर सम्बन्ध सुधारको प्रयास गर्नु भएको थियो । नेपालको त्यो नेतृत्वदायी भूमिका र मध्यस्थताकर्ताको महसुस गर्दै अब्बासी नेपाल आउन लागेको परराष्ट्रविदहरुको भनाई छ ।

तर भारतले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा भाग नलिने प्रष्ट जनाईसकेको छ ।  नेपाल र पाकिस्तानबीच यसअघि पनि उच्चस्तरीय भेटवार्ता भएका छन् । तर प्रधानमन्त्रीलाई बधाई दिन भन्दै पाकिस्तानी प्रधानमन्त्री नेपाल आएको संभवत पहिलो पटक हो ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालको निमन्त्रणामा नभई आफ्नै इच्छामा आउन लाग्नु भएको हो । भ्रमण टोलीमा विदेशमन्त्री खवाजा मोहम्मद असिफ, परराष्ट्र सचिव तेहिमना जान्जुआ, परराष्ट्र प्रवक्ता डा. मोहम्मद फैसललगायत एक दर्जन उच्च अधिकारी रहनेछन् ।



प्रतिक्रिया दिनुहोस्