Logo

यसरी भित्रन्छ काठमाडौंमा लागू औषध



काठमाडौं २४ फागुन ।
सीमावर्ती भारतीय नाका हुँदै काठमाडौंमा कसरी लागू औषध भित्रन्छ होला ? काठमाडौं भित्रने मुख्य नाका थानकोटबाट प्रहरीले बारम्बार लागूऔषधका दुर्व्यसनीहरुले प्रयोग गर्ने अवैध मेडिकल औषधि र अन्य लागू पदार्थ बरामद गर्दै आइरहेको थियो । मंगलबार प्रहरीले २३ लाख मूल्य बराबरको गाँजा र औषधिजन्य लागू औषध बरामद गरेपछि राजधानीमा लागू औषध भित्र्याउने नयाँ तरिकाको तथ्य खुलेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाले ग्रीजको तीन बट्टाभित्र लुकाएर काठमाडौं भित्र्याइएको डाइजेपाम, नुर्फिन, फेनारगन सहित गाँजा बरामद गरेपछि नयाँ तथ्य खुलेको हो। प्रहरीले भारतको रक्सौल हुँदै बसमार्फत काठमाडौं लागूऔषध ल्याउने बाराका विगु रायभर, भारत दरभंगा घर भएका महम्मद रियाजुदिन सहित काठमाडौंमा लागू औषधका मुख्य डिलर सुनिल घिमीरेलाई पक्राउ गरेको छ।
जनसेवाका डिएसपी टेकु नन्द इवा लिम्बुका अनुसार रायभर र रियाजुदिनले बसमा लागू औषधले भरिएको ग्रीजको बाल्टिन चढाएर काठमाडौं पठाएका थिए र आफूहरु भने छुट्टै बस चढेर काठमाडौं आएका थिए। डिएसपी लिम्बुका अनुसार यसरी एक लटमा लागू औषध ओसारेवापत दुवैले बीस हजार रुपैया लिने गरेको देखिन्छ।

यी दुईले काठमाडौं भित्रिएको लागू औषध मुख्य डिलर सुनिललाई जिम्मा लगाएका थिए। काठमाडौंका विभिन्न सब-डिलरहरुले सुनिलसँग उक्त लागू औषध किनेर प्रयोकर्ताहरु कहाँ पुऱ्याउने गरेको प्रहरीको ठम्याइ छ। प्रहरीले सुनिलको साथबाट २ सय तीन थान डाइजेपाम, यति नै थान नुर्फिन र फेनारगन बरामद गरेको थियो। विगु र महम्मदको साथबाट भने १८ र ५ केजीको बाल्टिन र झोलाबाट १६ सय सेट डाइजेपाम, नुर्फिन, फेनारगन र गाँजा पेल्ने हाते मेसिन र गाँजाको सय ग्रामको ११ प्याकेट बरामद गरेको थियो। लागू औषध प्रयोगकर्ताले डाइजेपाम, नुर्फिन, फेनारगनलाई मिसाएर प्रयोग गर्छन्। त्यसैले उनीहरुले यी तीनलाई एक सेट बनाएर बेच्ने गर्छन्।

प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोख्रेलका अनुसार पछिल्लो घटनाबाट लागू औषध ओसारपसारको नयाँ तथ्य खुलेको छ। प्रहरीका अनुसार ओसारपसारकर्ताले रक्सौल भन्सारबाट ग्रिजको बाल्टिन पास गराएको नक्कली भन्सारपत्र समेत बनाएको देखिन्छ। आफू पक्राउ परिने डरले लागू पर्दाथलाई ग्रिजले छोपेर बसमार्फत काठमाडौं पठाउने गरेको देखिन्छ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्