Logo

एमाले-माओवादीद्धारा आफ्ना सांसदमाथि ह्विप जारी



काठमाडौं, २७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच सिंहदरबारमा बसेको वैठक सकिएको छ । एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैठकमा आफ्ना कुराहरु राखेका थिए ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विश्वासको मतका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार ओलीले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा ओलीको पक्षमा रहेका सांसदहरुले आफ्नो मत व्यक्त गर्नेछन् । अहिलेसम्मको अवस्थालाई हेर्दा ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये दुई तिहाई सासंद ओलीका पक्षमा देखिएका छन् ।

 

कम्तीमा २०९ सांसदको समर्थन देखिएको छ । दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ ।ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राप्रपा र केही स्वतन्त्र सांसदहरु छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस विपक्षमा छ भने नेमकिपा र नयाँ शक्तिले निर्णय गरिसकेका छैनन् । नयाँ शक्ति, नेमकिपाले पनि ओलीलाई नै मत दिने सम्भावना बढि रहेको बताइएको छ । संसदमा नेपाली कांग्रेस मात्रै प्रतिपक्ष बन्ने भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्