Logo

गाउँपालिका अध्यक्षको घरमा बम



फलेवास, पर्वत, २९ फागुन । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको घरमा आज प्रेसरकुकर बम फेला परेको छ । कुश्मा नगरपालिका–१ स्थित सहस्रधारमा रहेको अध्यक्ष मल्लको बा १६ च २५२६ नं को गाडीमुनि प्रेसरकुकर बम भेटिएको हो । गाडीको टायरमुनि प्लास्टिकभित्र पत्रिकाले बेरेर प्रेसरकुकर बम राखिएको थियो ।

उक्त बम नेपाली सेनाको रणदल गुल्म कुश्मा र नेपाली सेनाको २३ नं बाहिनी बागलुङको टोलीले निष्क्रिय पारेको छ । घर नजिकै रहेको कालीगण्डकी नदीको किनारमा लगेर सो बम निष्क्रिय पारिएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।

राति राखिएको उक्त बम स्थानीयवासीले बिहान देखेका थिए । गएराति नै कालीगण्डकी क्रसर उद्योगले भाडामा लिएको कुश्मा नगरपालिका–७ शिवबहादुर घर्तीको जेसिबीमा समेत आगजनी गरिएको छ ।

सहाना निर्माण सेवाको ग १ क ३७३६ नं को जेसिबीमा आगजनी भएको प्रहरीले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मल्ल सो उद्योगका सञ्चालक हुनुहुन्छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्