काठमाडौँ, १ चैत । गृहमन्त्री रामबहादुर थापा ९बादल०सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिज्ले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहिआएको बताउँदै यो अवधिमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताउनुभयो ।
उहाँले नेपालको विकास तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभयो ।अमेरिकी राजदूत टेप्लिज्ले नेपालको गृहमन्त्रीका रुपमा कार्यभार सम्हाल्नुभएकोमा मन्त्री थापालाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि कुरा राख्नुभएको थियो ।यस्तै अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्ने लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।सो अवसरमा मन्त्री थापाले ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी गराउनुभयो । रासस