काठमाडौँ, १ चैत । हिजोमात्रै पदमुक्त भएका भनिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन् । शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनले राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राजीनामा दिनुअघि पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेको बुझिएको छ । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले पराजुलीलाई बालुवाटार बोलाएर विदामा बस्न वा राजीनमा दिन सुझाव दिएका थिए ।
तर, बुधबार सर्वोच्च अदालतमा हाजिर भएर काम गरेका थिए । बुधबार नै न्यायपरिषद्को सचिवस्तरीय निर्णयले पराजुलीलाई प्रधानन्यायाधीशबाट पदमुक्त भएको पत्र थमाएको थियो ।
तीनथरी जन्ममिति भएको भन्दै पराजुली विवादमा तानिएका थिए । साथै, आफूविरुद्धको अवहेलनामा मुद्धामा आफ्नै नेतृत्वको इजसालमा पेशी तोकेपछि उनी थप विवादमा तानिएका थिए । पराजुलीको राजीनामासँगै न्यायलयमा देखिएको पछिल्लो विवादको अन्त्य भएको छ ।
बिहीबार बिहान मात्र सर्वोच्चले आफ्नो वेवसाइटबाट पराजुलीको नाम हटाएर कायममुकायम प्रधानन्याधीशको रुपमा दीपकराज जोशीको नाम उल्लेख गरेको थियो ।