काठमाडौं २ चैत । प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई पूर्णता दिने गृहकार्यमा जुटेका छन् । सम्भव भएसम्म आजै मन्त्रिपरिषद विस्तार हुनेछ । राष्ट्रपति, सभामुखको निर्वाचन सम्पन्न भइसकेको छ भने उपराष्ट्रपति ९ चैत एवं उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । यसै क्रममा प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिने तयारीमा जुटेको उनको सचिवालयले बताएको छ।
प्रधानमन्त्री ओलीले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालस“ग सरकारलाई पूर्णता दिने विषयमा छलफल गरेका छन् । दुई नेताबीच राजपा र फोरम नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको छ
प्रधानमन्त्री ओली सरकारमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई समेत सरकारमा सहभागी गराउने गृहकार्यमा जुटेका छन् । संविधान संशोधनको प्रतिबद्धता खोजेको राजपा र फोरम नेपाललाई संशोधन एवं मन्त्रालयको संख्याका विषयमा अन्तिम टुंगो लाग्न बाँकी रहेकाले सरकारलाई पूर्णता दिने विषयमा ढिलाइ भएको हो । प्रधानमन्त्री ओलीले बिहीबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सरकारलाई पूर्णता दिने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा दुई नेताबीच राजपा र फोरम नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको छ । राजपा र फोरम नेपालसँग भइरहेको छलफल सकारात्मक रहेको भन्दै प्रधानमन्त्री सचिवालयले सरकारलाई पूर्णता दिने अन्तिम तयारी भइरहेको जनाएको छ ।
३ फागुनमा प्रधानमन्त्री भएका ओलीले सोही दिन एमालेका दुई नेतालाई मन्त्री नियुक्त गरेका थिए । १६ फागुनमा एमाले र माओवादी केन्द्रका दुईदुई मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सात सदस्यीय बनाए ।
मन्त्रीका एक दर्जन आकांक्षी
प्रधानमन्त्री ओलीका सचिवालयका अनुसार विवादमा नपरेका एवं समृद्धिका योजना सफल रूपमा अगाडि बढाउँदै जनताका सपना पूरा गर्ने नेतालाई नै मन्त्री बनाउने तयारीमा छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य भएसँगै एमाले र माओवादी केन्द्रमा मन्त्री हुनेको संख्या पनि दर्जनभन्दा बढी रहेको छ ।
प्रदेश १ बाट एमाले सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराई, सांसद वसन्त नेम्वाङ, पोलिटब्युरो सदस्यसमेत रहेका सांसद भानुभक्त ढकाल मन्त्री हुने चर्चा प्रधानमन्त्री निवास बालुवाटरमा भइरहेको छ ।
यसैगरी, प्रदेश २ बाट रघुवीर महासेठ, प्रदेश ३ बाट कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, पार्वत गुरुङ, रामवीर मानन्धर, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा मन्त्री बन्ने चर्चा रहेको छ ।
यसैगरी, कर्णाली प्रदेशबाट धनबहादुर बुढा, गोपालबहादुर बमको मन्त्री बन्ने सम्भावना रहेको छ । प्रदेश ७ बाट भीम रावल, प्रेम आले, नारदमुनि रानामध्ये एक जना मन्त्री हुने चर्चा छ ।
यसैगरी, माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्पा भुसाल, बिना मगर, सुदन किराती, अमनलाल मोदी, देवेन्द्र पौडेल मन्त्री बन्ने चर्चा माओवादी केन्द्रको हेडक्वार्टरमा चलिरहेको छ ।
यसैगरी, राजपा नेपालमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र फोरम नेपालबाट पार्टी अध्यक्षसमेत रहेका उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव मन्त्री बन्ने चर्चा छ ।