काठमाडौं ८ चैत । यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ। दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्दा ठूलो रकम पाउने नजिर स्थापित भइसकेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन विज्ञ प्रा.प्रभाकर अधिकारी बताउँछन्।
अमेरिकाले हवाई यात्रुको बिमा रकम वार्सा सन्धिमा कमी भएको भन्दै बढाउन मन्ट्रियल सन्धिको अवधारणा ल्याएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका दुर्घटना भएको विमानमा अमेरिकी लगानी छ।
पीडित परिवारले मन्ट्रियल सन्धिमा उल्लेख विमान कम्पनीको व्यावसायिक क्षेत्रलाई आधार मानेर अमेरिकाको अदालतमै बिमा दाबी गर्दा ठूलो रकम पाउने वरिष्ठ अधिवक्तासमेत रहेका अधिकारी बताउँछन्।
मन्ट्रियल सन्धि लागू नभएकै अवस्थामा पनि थाई एयरवेजको जहाज दुर्घटनामा परी ज्यान गुमाएकी सन्तोष कोइरालाका श्रीमान्ले अमेरिकाको क्यालिफोर्निया अदालतबाट असीमित दायित्व अन्तर्गतको बिमा दाबी गर्दा सात लाख पचास हजार डलर पाएका थिए।
त्यतिबेला वार्सा सन्धिमा २० हजार मात्रै बिमा रकम ताकिएको थियो। यूस–बंगला विमान दुर्घटनाबाट पीडित परिवारले दाबी नगर्दा पनि न्यूनतम पनि एक लाख एसडीआर अर्थात् एक लाख ४५ हजार अमेरिकी डलर (एक करोड ४५ लाख रुपैयाँ) पाउँछन्। असीमित दायित्वअन्तर्गत क्षतिपूर्ति दाबीका लागि सरकारी निर्णय र विमान दुर्घटनासम्बन्धी प्रतिवेदन कुर्नु पर्दैन।
– वार्सा सन्धिमा २० हजार डलर मात्रै बिमा रकम
– पीडितले दाबी नगर्दा पनि एक करोड ४५ लाख रुपैयाँ पाउने
– नेपाली कानुनअनुसार बिमा दाबी गरे २० हजार डलर मात्रै पाइने
– मन्ट्रियल कन्भेन्सनमा असीमित दायित्वलाई प्रोत्साहन
सरकारी निर्णय र नेपाल सरकार मातहतमा अदालतबाट बिमा दाबी गर्दा पीडितले उचित बिमा नपाउने अधिकारी ठोकुवा गर्छन्। ‘नेपाली कानुनलाई पछ्याएर क्षतिपूर्ति तथा बिमा दाबी गरे वार्सा कन्भेन्सनअनुसार पीडितले २० हजार डलर मात्रै पाउने भुक्तानी हुन्छ,’ अधिकारीले बुधबार अन्नपूर्णसित भने, ‘तर वार्सा कन्भेन्सनकै आधारमा पनि पीडितले असीमित दायित्वअन्तर्गत बिमा भुक्तानी पाएका अन्तर्राष्ट्रिय नजिर छन्।’
यही नजिर यूएस बंगलामा पनि लागू हुने अधिकारीले बताए। उचित बिमा दाबी गर्न वार्सा कन्भेन्सन र मन्ट्रियल कन्भेन्सनले विभिन्न क्षेत्र निर्धारण गरेको छ। तीनै क्षेत्रलाई आधार मानेर बिमा दाबी गर्दा व्यक्ति, लालनपालन, ठाउँ, ऐन कानुनका आधारमा पाउने रकम फरक–फरक हुन सक्छ।
कुन क्षेत्रलाई समातेर बिमा दाबी गरे बढी बिमा दाबी भुक्तानी हुन सक्छ। पीडित परिवारलाई राहतका लागि कुन तरिका अपनाएर कहाँ दाबी गर्ने भने विषयमा सोच्नुपर्ने उनको भनाइ छ।
यूएस बंगला दुर्घटना पीडितले शतप्रतिशत असीमित दायित्व अन्तर्गतकै बिमा दाबी गर्न सक्ने अधिकारी बताउँछन्। असीमित दायित्व कम्पनीले व्यहोर्नु नपर्ने भनेर प्रमाणित गर्ने भार बिमा कम्पनीकै हुने अधिकारी बताउँछन्। यूएस बंगला कम्पनीको विमानले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा दुर्घटनामा परेका पीडितले असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्न नपाउने प्रमाणित गरेको अवस्थामा मात्रै यो लागू नहुने अधिकारीको दाबी छ।
प्राइम फेसी (प्रथम दृष्टिमै) यो विमान दुर्घटनामा पाइलटको कमजोरी देखिन्छ। म्यानुफेक्चर इरर, मेकानिकल फेलियर, पाइलट इरर र प्यासेन्जरको असावधानी, एयर ट्राफिक कन्ट्रोल रुमको फल्ट, चरा, चट्याङ, आतंकवादलगायत कारणले विमान दुर्घटना हुन्छन्।
विश्वमा अहिलेसम्म भएका विमान दुर्घटनामध्ये ७० प्रतिशत पाइलटको असावधानीकै कारण भएको अध्ययनले देखाएको छ। यूएस बंगला विमान दुर्घटनामा पनि पाइलटले अपनाउनुपर्ने सावधानी अपनाएको देखिँदैन।
पाइलटले सावधानी नअपनाउँदा जहाज दुर्घटना भएको हो। पाइलटकै कारण जहाज दुर्घटना भएको अवस्थामा पीडितले असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्नुपर्ने अधिकारीको सुझाव छ। अन्नपूर्णपोष्टबाट