Logo

गाउँपालिकामा प्रधानाध्यापक कार्यालय सहयोगी



सल्यान, ९ चैत । करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गर्नुभएका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी हुनुभएको छ ।

विद्यालयमा पढाउदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका उहाँ दार्मा गाउँपालिकामा कार्यालय सहयोगी हुनुभएको हो ।

दार्मा–४ मा रहेको वाल कल्याण प्राथमिक विद्यालयमा २०६६ सालदेखि निजी स्रोतमा पढाइरहनुभएका थापाले दुइ वर्षदेखि तलब नपाएपछि गाउँपालिकामा कार्यालय सहयोगीमा काम गर्न थालेको बताउनुभयो ।

विसं २०६६ मा रु एक हजार २०० तलब लिएर पढाउन शुरु गर्नुभएका उहाँ २०६९ सालमा प्रधानाध्यापक हुनुभएको थियो । “थोरै भए पनि तलब आउँछ भनेर काम गरेँ तर दुई वर्षदेखि त्यही तलब नपाएपछि बाध्य भएर विद्यालय छोडे ।” थापाले भन्नुभयो ।

प्रधानाध्यापक नै गाउँपालिकामा गएपछि विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ । एकतीस विद्यार्थी रहेको विद्यालयमा अब एकजना बालविकास सहयोगी कार्यकर्ताको भरमा मात्रै सञ्चालन भइरहेको छ ।

स्थायी दरबन्दी नरहको उक्त विद्यालयमा स्थानीयले दिने चन्दाको भरमा विद्यालय चल्दै आएको बालविकास सहयोगी कार्यकर्ता निरा बुढाथोकीले जानकारी दिनुभयो ।

“पहिले दुई जना शिक्षक थियौँ प्रधानाध्यापक नै विद्यालय छोडेर जानु भयो अब मलाई समस्या भएको छ ।”

सहयोगी कार्यकर्ता बुढाथोकीले भन्नुभयो, “जिल्ला शिक्षा कार्यालयले पहिले पिसिएफको पैसा पनि दिन्थ्यो यो वर्ष दिएको छैन न त स्थानीयले चन्दा नै उठाउँछन् ।” रासस



प्रतिक्रिया दिनुहोस्