काठमाडौं १० चैत । कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी निर्वाचनमा हार्नुमा ९ कारण उल्लेख गर्दै त्यसमा सभापति शेरबहादुर देउवाको अलोकप्रिय छविदेखि उनको सत्ता राजनीतिको चरम महत्त्वाकांक्षासम्मले काम गरेको उल्लेख गरेका छन् । देउवाप्रति आक्रामक बन्दै आएका सिंहले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा ९ पानाको प्रस्ताव प्रस्तुत गर्दै सभापतिका निर्णयले पार्टीभित्र चरम राजनीतिक विचलन भित्रिएको आरोप लगाएका हुन् । माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्रीमा सम्झौता गरी तत्कालीन केपी ओली नेतृत्वको सरकार ढाल्नु र भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाललाई मेयरमा समर्थन गर्नु सभापति देउवाको सत्ता राजनीतिको चरम उत्कर्षको रूपमा उनले लिए ।
‘पार्टी सभापतिले खेलेको यस्तो भूमिका चरम राजनीतिक विचलन र सत्ताकेन्द्रित राजनीतिको पराकाष्ठा थियो,’ सिंहले प्रस्तावमा भनेका छन्, ‘पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढंगबाट एक्लैले यति ठूलो आत्मघाती निर्णय गरेको घटनाले कांग्रेसीजनको शिर निहुर्याएको छ ।’
पार्टी सभापतिको कदमले निर्वाचनमा पार्टीलाई ठूलो क्षति पुगेको सिंहको ठहर छ । ‘सभापतिले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाह नगरी केवल व्यक्तिगत उग्रराजनीतिक महत्त्वाकांक्षा, सत्ताकेन्द्रित राजनीतिक चरित्र र प्रवृत्तिको कारणबाट पार्टीले आफ्नो सिद्धान्त र आदर्शबाट विचलित हुनुपरेको हो,’ सिंहले भनेका छन् । उनले संविधान जारीपछि नजित्ने प्रधानमन्त्रीको चुनावमा तत्कालीन नेता सुशील कोइरालालाई उठाएबाटै कांग्रेसको अधोगति सुरु भएको बताएका छन् ।
त्यसपछिका अवधिमा सभापति देउवाका गतिविधिलाई उनले मुख्य कारण ठानेका छन् । सिंहले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने निर्णय, भारतीय नाकाबन्दीमा पार्टी बोल्न नसक्नु, सर्वोच्च अदालतको निर्णयविरुद्ध खेद प्रकट गर्नुजस्ता अलोकप्रिय निर्णयले पार्टीलाई क्षति पुगेको तर्क गरेका छन् । उनले सत्तामा पुग्नकै लागि पार्टी सभापतिले भारतीय नाकाबन्दीविरुद्ध बोल्न नसकेको बताएका छन् ।
सिंह किन भए आक्रोशित ?
कांग्रेस विभाजित भएका बखत सिंह देउवातिर थिए । त्यतिबेला नेता गिरिजाप्रसाद कोइरालासँग उनको द्वन्द्व थियो । पार्टी एकीकरणसँगै उनले देउवा समूह छाडे । देउवाको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाउँदै कोइराला समूहमै फर्किए । त्यसपछि उनी देउवाप्रति कहिल्यै नरम भएनन् । एउटा गुटको मात्रै सभापति भएको भन्दै निरन्तर देउवामाथि प्रहार गर्दै आए । पछिल्लोपटक उनले देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धासमेत गरेका थिए । प्रतिनिधिसभा निर्वाचनमा पौडेल पराजित भएपछि उनले यो मौका पाएका हुन् । उनलाई नजिकबाट चिन्ने एक नेता भन्छन्, ‘पौडेल समूहमा पौडेलपछि को नेता बन्ने प्रतिस्पर्धा छ । यसमा आफूलाई अघि बढाउन पनि सिंहले यो रणनीति बनाएका हुन सक्छन् ।’
कोइरालाको अर्थपूर्ण मौनता
१३ औं महाधिवेशनमा पौडेल समूहबाट चुनाव जितेका महामन्त्री शशांक कोइरालाको मौनतालाई पनि यतिबेला अर्थपूर्ण रूपमा हेरिएको छ । निर्वाचनमा पार्टी पराजित भएपछि सभापति देउवाप्रति पौडेल पक्ष आक्रामक बनिरहेका बेला कोइराला भने मौन छन् । हुन त उनी संसद्मा समेत खासै बोल्दैनन् । तर, पार्टीभित्र उनको मौनतालाई सभापति शेरबहादुर देउवासँगको सम्बन्धसँग जोडेर हेर्ने गरिएको छ । सभापति देउवाले आफू सफल हुनका लागि सुरुका दिनदेखि नै कोइरालासँगको सम्बन्ध बढाएका छन् । उनलाई १४ औं महाधिवेशनमा आफू नउठेर सभापतिमा सघाउने वचन दिएकाले पनि कोइराला मौन बसेका तर्क कांग्रेसभित्र व्याप्त छ । तर, केही दिनअघि संसदीय दलको नेतामा सर्वसम्मत आफूलाई सहयोग माग्न जाँदा देउवाले आफैंलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘त्यो घटनाबाट केही संशय पैदा भएको छ होला तर अझै उहाँ सभापतिलाई फकाएरै आफू नेतृत्वमा आउन सकिन्छ कि भन्ने आसमा हुनुहुन्छ,’ पौडेलनिकट एक नेताले भने । संसदीय दलको नेतामा समेत उनी कुनै पक्षमा खुलेनन् । पौडेल पक्षीय भेलामा समेत कोइरालाको मौनताका बारेमा बारम्बार चर्चा हुँदै आएको छ । पौडेलले बोलाएको बैठकमा उनी सहभागी हुने गरे पनि नेतृत्वको विषयमा भने मौन नै बस्ने गरेका छन् । ‘अब तपाईंको विचार के हो भनेर सोध्ने पक्षमा हामी छौं,’ पौडेलनिकट स्रोतले भन्यो, ‘कोइरालालाई आफ्नो बाटो प्रस्ट बनाउन पौडेललाई जिम्मा दिएका छौं ।’