Logo

आकाश पार गरे पनि जमिन पार गरे पनि भारत र चिन चाहिन्छ : ओली



चैत १२, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँगको मित्रतालाई अत्यन्तै धेरै महत्व दिने बताएका छन् ।

नेपाल चिन सम्बन्ध नामक पुस्तक विमोचन कार्यक्रममा ओलीले नीतिगत रुपमा नै छिमेकी देशसँगको मित्रताबारे स्पष्टता रहेको बताएका हुन् ।

भौगोलिक रुपमा नै नेपाल दुई ठूला देशको बिचमा भएकाले छिमकी नीति मित्रतापूण हुनुपर्ने ओलीको भनाई छ ।

“दुईवटा ठूला ठूला देश दुईतिर छ, हामी बिचमा छौँ, आकाश पार गरे पनि जमिन पार गरे पनि दुईवटा देश पार गर्नुपर्यो । कहिलेकहिले यस्तो लाग्छ, अमेरिका सोच्नुपर्यो भने कतापट्टिबाट सोच्ने ? बाटो त चाहिन्छ ।” ओलीले भने ।

अन्य देशमा जानका लागि पनि भारत वा चिनको बाटो प्रयोग गर्नै पर्ने भएकाले सम्बन्ध पनि त्यहीअनुसारको हुने ओलीको भनाई थियो ।

“दुईवटै छिमेकीसँगको हाम्रो मित्रता राम्रो छ । त्यस मित्रतालाई अझ खदिलो बनाउँछौँ । जति समानताका आधामा सम्बन्ध बढ्यो त्यति नै खदिलो र भरिलो बन्छ ।” ओलीले भने ।

कसैको फाइदाका आधारमा मात्र अघि बढ्ने मित्रता दिगो नहुने भन्दै उनले सम्मानका आधार सम्बन्ध खदिलो हुने बताए ।

“केहि दिँदा अपमान गरेर दिइयो भने त्यो पनि मित्रता होइन । नदिएर पनि अपमान गरेन, सम्मान गर्यो भने त्यो मित्रता राम्रो हुन्छ ।” उनले भने ।

असमान व्यवहार गरेर दुईदेशबिचको सम्बन्ध राम्रो हुन नसक्ने ओलीको स्पष्टोक्ति छ ।

चिनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई सधैँ महत्व दिने गरेको ओलीले बताए ।

डा. अञ्जन शाक्य र माधवजी श्रेष्ठले लेखेको नेपाल चिन सम्बन्ध नयाँ बाटो र सम्भावना पुस्तक सोमबार ओलीले बिमोचन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्