Logo

अनुपाको शरीरमा भएको गोली बी एण्ड सी अस्पतालले निःशुल्क निकाली दिने



जित बहादुर भण्डारी

पाँचथर । सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँडेकी पूर्व छापामारले उपचारका लागि सहयोगको माग गरेको समाचार राससबाट प्रकाशन भएपछि उहाँको निःशुल्क उपचार हुने भएको छ ।

झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभीरमा जन्मिएकी अनुपा राईको शरीरमा १५ वर्ष अघि लागेको गोलीको निःशुल्क उपचार हुने भएको हो ।

उहाँको शरीरमा लागेको गोली निकाल्न जति खर्च लागे पनि अस्पतालले निःशुल्क उपचार गरिदिने अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले बताउनुभयो ।

युद्धकालमै पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङका तत्कालीन छापामार मनकुमार राईसँग पार्टीभित्रै विवाह गरेकी अनुपा अहिले पाँचथर सुभाङमै बस्नुहुन्छ । उहाँका श्रीमान् चार वर्ष यता मलेसियामा वेल्डिङको काम गर्नुहुन्छ ।

अनुपालाई २४ वैशाख २०५९ मा संखुवासभाको चैनपुर युद्धमा गोली लागेको थियो । उहाँको टाउको र देब्रे छातीमा छर्रा छ जसले अहिले धेरै पीडा दिन थालेको छ । ‘यसैको कारणले होला खुट्टा निदाउँछ, चलाउँनै गाह्रो हुन्छ’ फिदिममा पत्रकारसँग कुराकानी गर्दै अनुपाले भन्नुभयो ।

विसं २०५७ मा ओखलढुंगाको कुइभीर माविमा नौ कक्षामा पढ्दापढ्दै युद्धमा होमिनु भएको थियो अनुपा, जतिबेला उहाँ १५ वर्षकी हुनुहुन्थ्यो । ‘स्कुलमा भएको एक कार्यक्रममा गरीब, दुःखीको मुक्ति हुन्छ भन्ने नेताहरुको भाषणबाट प्रभावित भएर एकैपल्ट १५ जना युद्धमा लागेका थियौँ’ उहाँले भन्नुभयो, “२०६३ सालमा छोरा जन्मेपछि पार्टीको सैन्य फाँट छोडे र आफ्नो छापामार जीवनकालमा पाँचवटा युद्ध लडेँ ।”

विसं २०५८ मंसिर १० मा सोलुखुम्बु, २२ माघ २०५८ मा काभ्रेको भकुण्डेबेँसी आक्रमणमा अनुपाले वीरतापूर्वक लड्नुभयो । २४ वैशाख २०५९ मा संखुवासभाको चैनपुर आक्रमणमा गम्भीर घाइते हुनुभयो । तर पनि युद्धबाट फर्किने मन बनाउनुभएन अनुपाले, घाइते भएपछि पनि २२ भदौ २०५९ मा सिन्धुलीको भिमान र १० कात्तिक २०५९ मा ओखलढुंगाको रुम्जाटार आक्रमण उहाँले लडेको अन्तिम युद्ध हो ।

‘रणसंग्रामबाट नयाँ जीवन पाएर फर्केकी थिएँ’ आफू घाइते भएको चैनपुर आक्रमणलाई स्मरण गर्दै अनुपाले भन्नुभयो ‘साथीहरुले म मरेको रिपोर्ट कमान्डरकहाँ पु¥याएछन् त्यसपछि पार्टीले मलाई शहीद घोषणा गरेछ ।’ गोली लागेर बेहोस भएकी उहाँ छ दिन जंगलमै बसेर पार्टीको सम्पर्कमा पुग्नुभएको थियो ।

उहाँ शहीद भएको खबर घरसम्म पनि पुग्यो । तर काजकिरिया चाँही गरिएनछ घरमा । माओवादी शान्ति प्रक्रियामा आएपछि अनुपा उपचारका लागि काठमाडौँको लाइफ केयर अस्पतालसम्म पुग्नुभयो । तर छर्रा निकाल्न सकिएन ।

द्वन्द्वपीडितलाई पैसा दिन्छन् अरे भन्ने सुनेर फिदिमस्थित पार्टी कार्यालय आएर फारम पनि भर्नुभयो । तर अहिलेसम्म कहीँकतैबाट पनि क्षतिपूर्ति नपाएको उहाँले बताउनुभयो । अहिले टाउको र छातीमा रहेको छर्राका कारण दिनदिनै आफूलाई गाह्रो हुँदै गएको अनुपा बताउनुहुन्छ ।

पार्टीले आफ्नो उपचार गरिदिन्छ भन्नेमा उहाँ अझै आशावादी हुनुहुन्छ । ‘हाम्रै कारणले मुलुकमा यतिसम्म परिवर्तन भयो, फेरि पनि पार्टी सत्तामा पुगेको छ, म र म जस्ता अन्य युद्धमा पीडित भएकालाई पार्टीले हेर्नुपर्छ’ अनुपाले पत्रकारसँग भनुभयो ‘मेरो कुरा तपाईहरु मार्फत् पार्टीका ठूला नेतासम्म पुग्छ भन्ने विश्वास छ ।’

नेकपा ९माओवादी केन्द्र० का हिलिहाङ गाउँपालिका इन्चार्ज रबीन तिम्सिनाले भने शुरुमा पार्टीले द्वन्द्वपीडितको विवरण संकलन गर्ने क्रममा अनुपाको नाम छुटेकाले राज्य पक्षबाट कुनै किसिमको सहयोग जुटाउन नसकिएको बताउनुभयो ।

तर अनुपाको उपचार जसरी पनि हुनुपर्छ भनेर लागिरहेको उहाँको भनाई छ । अनुपाका १२ वर्षीय छोरा अहिले फिदिमस्थित नयाँ नमुना माविमा कक्षा–७ मा पढ्दैछन् भने उहाँ सुभाङमै सासुआमासँग बस्दै आउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्