काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको यही चैत्र २३ गतेदेखि हुने तीन दिने भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली आन्तरिक तयारीमा जुटेका छन् ।
ज्ञवालीले पूर्वपरराष्ट्रमन्त्रीहरु र प्रवुद्ध ब्यक्ति समूह (ईपीजी)का टोलीसँग संयुक्त रुपमा नेपाल भारत सम्बन्ध र अन्य समग्र कूटनीतिक विषयमा परामर्श गरेका छन् । उनले ललितपुरको एक होटलमा बिहान ‘ब्रेकफास्ट’ बैठक नै गरेर नेपालको कूटनीतिमा परेका समस्या र भारतसँगको सम्बन्ध विस्तारलाई लिएर छलफल गरेको परराष्ट्र अधिकारीले बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणमा भारतसँग राख्नुपर्ने एजेण्डाका बारेमा केन्द्रित रहेर आफ्नो छलफल अघि बढाएका छन् । स्रोतका अनुसार ज्ञवालीले भारतसँग रहेको खर्बौंको व्यापार घाटा न्यूनिकरण गर्ने र अन्य विकास सम्बन्धित एजेण्डामा पनि बुँदागत रुपमा कुरा गर्नेगरि छलफल गरेका छन् ।
त्यसैगरि परराष्ट्रमन्त्रीले भ्रमणको क्रममा भारतसँग के कस्ता विषयमा कुरा गर्ने हो भन्नेबारे पनि अन्तरमन्त्रालय छलफल गर्नेछन् । त्यसैगरि, विज्ञ, उद्योगी तथा व्यवसायीहरुसँग पनि उनले आज र भोलिभित्रै छलफल गर्नेछ । प्रधानमन्त्री ओलीले विज्ञहरुसँग सामूहिक छलफल गरेर भ्रमणको बारेमा सल्लाह र सुझाव लिनेछन् ।