Logo

बेहुली लिन गएको मान्छे मोटरसाइकल नदिँदा किन फर्किन्छ ?



काठमाडौं १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अशिक्षाका कारण तराई-मधेसमा धेरै विकृति रहेको बताएका छन् । बाराको सिमरा गार्मेन्ट प्रशोधन क्षेत्रको आइतवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले तराइमा व्याप्त बोक्सी र दाइजो प्रथाविरुद्ध अभियान चलाउनु पर्ने बताएका छन् ।

ओलीले बोक्सी र दाइजो प‍्रथाले समाजकै बेइज्जत भएको बताउँदै यसलाई हटाउन अभियान चलाउनुपर्ने बताए । ‘गरिब महिलालाई बोक्सीको आरोप लगाएर हिंसा गर्ने प्रचलान अन्त्य गर्नुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘बेहुली लिन गएको मान्छे मोटरसाइकल दिएनन् भनेर फर्किने र दाइजो नल्याएको बहानामा श्रीमतीलाई यातना दिने कुरा अब सह्य हुँदैन । यस्तो विकृतिको अन्त्य हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले नागरिकताको समस्या पनि हल गरिने बताए । कानुनका अफ्ठ्यारालाई समाधान गरिने उनले बताए । ‘जन्मसिद्धका छोराछोरीले वंशजको नागरिकता पाउँछन्’, प्रधानमन्त्रीले भने, ‘यसमा अब समस्या हुँदैन ।’

भारतसँग सम्बन्ध सुध्रिसक्यो

सम्बोधनका क्रममा ओलीले नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुगेको पनि बताए । केही दिनपछि हुने आफ्नो भारत भ्रमणले दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास पनि उनले व्यक्त गरे ।

‘एक खालका मान्छेलाई भारतसँगको सम्बन्ध यस्तो हुन्छ भन्ने विश्वास थिएन’, प्रधानमन्त्री ओलीले भने, ‘तर अहिले हाम्रो सम्बन्ध पारस्परिक लाभमा आधारित र सहकार्य पनि बढेको छ । यो सम्बन्ध अरु बढ्छ ।’

चीनले सघाउँछ

प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको सहयोग पनि उल्लेख्य रहेको बताएका छन् । ‘विकाका लागि चीन पनि सहयोग गर्न तयार छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी एकतावद्ध भएर देश विकासका लागि लाग्नु पर्छ । छोटो समयमा नै हामी नेपाललाई सुन्दर र विकशित देश बनाउन सक्छौं ।’

प्रधानमन्त्री ओलीले देशको भूगोल र राष्ट्रियता परिवर्तन गर्न नमिल्ने बताउँदै तर त्यस बाहेक काम गर्ने शैली र सोचाइ फेर्न सकिने दाबी गरे ।

प्रधानमन्त्री ओलीले हरेक प्रदेशमा कृषिका बिशेष परियोजना सञ्चालन गरिने बताए । ‘कृषिको आधुनिकीकरण र भूमि व्यवस्थापन गरेर ठुलो क्षेत्रफलमा एकै प्रकारको खेती लगाउनु पर्दछ’, उनले भने ।

प्रधानमन्त्री ओलीले सुनकोशी डाइर्भसन र मरिन कमला सिंचाइ परियोजना अघि बढाएर तराईको जमिनमा सिंचाइ सुविधा पुर्‍याइने बताए ।

गार्मेन्ट उद्योग सञ्चालन भएपछि रोजगारीसँगै यस क्षेत्रको आर्थिक विकासमा ठुलो टेवा पुग्ने प्रधानमन्त्री ओलीले बताए ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्