Logo

खानेपानी समस्यादेखि जलवायु परिवर्तनको चिन्ता



पोखरा, २४ चैत । प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकमा शून्य समय र विशेष समयमा बोल्ने सदस्यले जनताले भोग्ने गरेका खानेपानीका समस्यादेखि जलवायु परिवर्तनका समस्यालगायतमा आआफ्ना धारणा राखेका छन् ।

बाग्लुङका प्रदेशसभा सदस्य पियारी थापाले जनता बरेङ गाउँपालिका वडा नं ५ बाग्लुङमा खानेपानी लिनका लागि दुई तीन घण्टासम्म बोकेर ल्याउन बाध्य भएकाले समस्या समाधानका लागि सरकारको ध्यानकर्षण गराउनुभयो । कास्कीकी पुष्पा केसीले महिला हिंसा रोकथामका साथै हिंसापीडित महिलाई पुनःस्थापना गरिनुपर्नेमा जोड दिँदै महिला सरकारी कर्मचारीलाई ९८ र शिक्षिकालाई ६० दिन प्रसूति विदा दिने गरी गरिएको विभेद अन्त्य गर्न र ठाउँ ठाउँमा शिशु स्याहार केन्द्र स्थापना गर्नुपर्ने बताउनुभयो ।

कास्कीकै विन्दुकुमार थापाले पोखरा लेखनाथ महानगरपालिका नाममा रहेको वडा नं ३३ स्थित पशुपतिघाटस्थित दुई सय रोपनी जग्गामा क्रिकेट रङ्गशाला बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।  मुस्ताङका महेन्द्रबहादुर थकालीले जलवायु परिवर्तनलाई दृष्टिगत गरी सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कोष स्थापना गरिनुपर्ने बताउनुभयो । लमजुङका मायानाथ अधिकारीले लमजुङमा रुदी खोलालगायत पुल निर्माणमा भएको ढिलासुस्ती र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।

गोरखकाली रबर उद्योग खुलाउन माग

विशेष समयमा सदस्य धनञ्जय दवाडीले विद्युत् वितरण प्रणाली प्रभावकारी बन्न नसक्दा समस्या परेको बताउनुभयो । सदस्य कृष्णचन्द्र नेपालीले सामाजिक परिचालिकाका सम्बन्धमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने धारणा राख्नुभयो । म्याग्दीका विनोदकुमार केसीले नमिल्दो भूगोल विभाजन लगायतका कारणबाट हिजो पाएका सेवा सुविधा पनि नपाउने अवस्था आएको बताउनुभयो ।

बाग्लुङका टेकबहादुर घर्तीले ढोरपाटन शिकार आरक्षमा उठ्ने राजस्व स्थानीय एवम् प्रदेश तहमा आउनुपर्ने धारणा राख्नुभयो । गोरखाका हरिशरण आचार्यले बन्द गोरखकाली रबर उद्योग खुलाउन ध्यानाकर्षण गराउनुभयो ।नवलपुरका सदस्य रोशनबहादुर गाहा थापाले नवलपुर जिल्ला कायम गरी सदरमुकाम कावासोती तय गरिनुपर्ने धारणा राख्नुभयो ।

तनहुँका दोबाटे विश्वकर्माले व्यास – १० मा रहेको एक हजार ५०० रोपनी सार्वजनिक जग्गालाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न माग गर्नुभयो । कास्कीका मनबहादुर गुरुङले धारामा पानी नआउने जस्ता समस्याप्रति ध्यानकर्षण गराउनुभयो ।मनाङका चिन्तबहादुर घलेले जलस्रोत एवम् जडिबुटीको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्