काठमाडौं, ७ बैशाख । सर्जक जन्मजय साम्पहाङ राईको पहिलो गीति एल्बम् ‘जन्म’को बिमोचन गरिएको छ । शुक्रबार राजधानीमा आयोजति एक कार्यक्रममा गीतकार एवम् वरिष्ठ गजलकार डा.कृष्णहरी बरालले उक्त गीति एल्बमको बिमोचन गरेका हुन ।
गीतकार डा.बरालले सर्जक राईलाई निरन्तर यसैमा लाग्न आग्रह गरेका छन् । उनले भने,‘सर्जकको लागि गीत लेखन पहिलो र अन्तीम हुँदैन, लेख्दै जानुहोला, तपाईले सिर्जना गरेका हरेक गीतहरु सुन्दर छन्।’
उनले अघि थपे,‘तारा प्रकाशसँग मेरो पुरानो चिनजान हो, मेरा गीतहरुमा उहाँले स्वर दिनु भएको छ, ड्रमी हाल्नको लागि गाउँन लगाउँदा उहाँकै स्वरलाई ओके गर्ने पनि मै हुँ,त्यसैले यस गीति एल्बमको प्रगतीमा जोडिएका नामहरु काफि छन्, राम्रै चिजको पनि विज्ञापन गर्नुपर्छ त्यसैले यस एल्बममा समाहित गीतको बारेमा प्रचार–प्रसार गर्नुहोला मेरो शुभकामना छ ।’
गीति एल्बम ‘जन्म’ भित्रि ७ वटा गीतहरु समावेश गरिएका छन् । पछिल्लो समयका चर्चित संगीतकार एवम् गायकार तारा प्रकाश लिम्बुको संगीत रहेको उक्त एल्बमका गीतमा चर्चित गायक राजेश पायल राई, मेलिना राई, तारा प्रकाश लिम्बु, सिडि.विजय अधिकारी, स्वस्तिका प्रधान, गणेश लावती लगायतको स्वर रहेको छ ।