काठमाडौं, ८ बैशाख । एमाले उपाध्यक्ष यूवराज ज्ञवालीले पार्टी एकता बैशाख ९ अर्थात भोलिको लागि मात्रै टरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको लोकप्रिय कार्यक्रम नेपाली वहसमा ऋषि धमलासँगको अन्तरवार्तामा उपाध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन ।
उनले भने,‘पार्टी एकता बैशाख ९ गतेलाई मात्र टरेको हो, केही शंकाहरु बढेका हुन, अब पार्टी एकता हुँदैन कि भन्ने खालका कुराहरु आएका छन्, पार्टी एकताबाट भाग्न मिल्दैन, पार्टी एकता हुन्छ, सबै नेता कार्यकर्ताले पार्टी एकता टार्न मिल्दैन, एकता कुनै हालतमा गर्नुपर्छ भन्नेमा हामी छौँ।’
एकताको लागि एमाले र माओवादीबीच कुनै कुरा नै मिलदैन, ओली बराबरी नचाहने, प्रचण्ड बराबरी खोज्ने अनि कसरी एकता हुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा उपाध्यक्ष ज्ञवालीले भने,‘उहाँहरुले संख्यामा बराबरी होईन, सम्मानजनक एकता चाहेका हौँ भनेर बारम्बार भनिरहनुभएको छ, एकतापछिको नेतृत्वको बारेमा कहि कतै कसैसँग पनि सहमति भएको छैन्, अहिले नै कसैलाई व्यक्तिगत रुपमा यो वा त्यो भन्न मिल्दैन, त्यो महाधिवेशनको अधिकारको कुरा हो, अहिले नै यो वा त्यो व्यक्तिलाई यसो उसो गर्नुपर्छ भनेर भन्यो भने एकताको पहिलो बाधक त्यहि व्यक्ति हुनेछ ।’
महाधिवेशनपछि प्रचण्डको अस्तित्व के हुने भन्नेमा एकता अड्कीएको हो ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा उपाध्यक्ष ज्ञवालीले भने,‘एक अर्कालाई सक्ने खालको गतिविधि हुने र एकताको नाममा नेताहरुको अस्तित्व सक्ने खालको काम हुनु हुँदैन, कोही पार्टी कसै पार्टीमा विलय हुनु हुँदैन, साचो साचो अर्थमा खेल्ला सर्तकासाथ एकता हुनुपर्छ, एकताबाट भागेर मुलुकलाई नै अस्थिर बनाउने खेलमा नेताहरु जानु हुदैन ।’
उपाध्यक्ष ज्ञवालीले एमाले माओवादीका नेता कार्यकर्ताको सम्माजनक रुपमा जिम्मेवारी बाँडफाड गर्नतर्फ नेतृत्वलाई आग्रह गरेका छन् । पार्टीका नेता पद र एकताको नाममा अल्झिने हो भने नेपालमा कम्यूनिष्ट पार्टीको काम नहुने तर्क गरेका उपाध्यक्ष ज्ञवाली एमाले भित्रका वैचारिक नेता समेत हुन । उनले पार्टी एकताको रटानले समृद्धि र जनताको भावना माथि नकारात्मक असर पर्ने समेत जिकिर गरेका छन् ।
गरिब र दुःख पाएका जनताको नाममा गठन गरिएका कम्यूनिष्ट पार्टीहरु पदको लागि लड्नुलाई स्वभाविक रुपमा लिन नहुने बताए । उनले भने, ‘कम्युनिष्ट पार्टी गठन जनताको भलाई, मुलुकको राजनीतिक परिवर्तन, अधिकार स्थापित गराउन र राष्ट्रियतालाई मजबुँद बनाउनको लागि हो, पदको लागि मात्रै लड्नुले के सन्देश दिन्छ ? जहाँसम्म एकताको बारेमा अहिले नै यति वा उति प्रतिशतको कुरा अहिले नै भन्नु आवश्यक छैन्, दुईपार्टी अध्यक्षले एउटा सहमति गरेर आउनु भनेर भनेका छौं, त्यसपछि कता कहाँ छलफल गर्नुपर्छ हामी छौँ भनेका छौँ ।’
प्रचण्ड ओलीले पार्टी एकताको लागि उचित कदम चाल्न सक्नु भएन भने के हुन्छ भनेर गरिएको अर्को प्रश्नमा उनले भने,‘एकताबाट भाग्न मिल्दैन, एकता हुनै पर्छ, ओली प्रचण्डले सक्नै पर्छ, आजसम्म धेरै कुरामा सहमति भयो, पार्टी एकताको लागि सहमति नहुने हुँदैन, दुईवटा अध्यक्षले कार्यकर्ता, जनताले अनुमोदन गरेको कुरालाई अध्यक्षले मिलान नसक्ने हुन्छ ? आलोपालो पार्टीको नेतृत्व लिने र महाधिवेशन पछि उचित नेतृत्व चयन हुन्छ ।’ जनयूद्ध राख्ने कुरामा विदेशी जे सुकै भनेपनि जनयुद्ध शब्द राख्ने सकिने ज्ञवालीको भनाई छ ।