काठमाडौं, १३ बैशाख । राष्ट्रिय क्रीकेट खेलाडी टिम र राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपालबीचको मैत्रीपुर्ण फुट्सल खेलमा प्रष्ठिान ४ गोल अन्तरले पराजित भएको छ । क्रिकेट टिमले १४ गोल हानेका छन् भने त्यसका बिरुद्ध कलाकारले १० गोल फर्काएका थिए ।
कला र खेलकुदबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले क्रिकेट टिमको घरेलु मैदानको रुपमा रहेको राजधानी स्थिति शान्ति नगर फुटसल ग्राण्डमा सम्पन्न खेलमा पारस खड्काको टेक्निक र ज्ञानेन्द्र मल्लको पावरफुल प्रहार अनि सुबास खकुरेलको स्टामिनाको अगाडि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारहरु कम्जोर देखिएका थिए ।
क्रिकेटर टिमबाट कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल लगायतले गोल हानेका थिए । मुलुकलाई विश्वमा चिनाउनको लागि खेलकुद र कलाको महत्वपूर्ण भूमिका रहने भन्दै क्रिकेटर र कलाकारहरुले सद्भावपूर्ण फुटसलको आयोजना गरेको लोक तथा दोहोरी गीत प्रष्ठिानका अध्यक्ष बद्री पंगेनीले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।
उनले भने,‘मुलुकको समृद्धि, कला र खेल क्षेत्रको विकासको लागि हामी कलाकार र खेलाडीहरुको पनि उत्तिकै हात रहन्छ, हिजो बुधबार क्रिकेटरको घरेलु मैदानमा खेल्यौ, केही दिनमा हाम्रो ग्राउण्ड सामाखुसिमा खेल्नेछौँ, कलाकार र क्रिकेटरबीचको सहकार्यले मुलुको लागि केही गर्ने हाम्रो योजना छ ।’ कलाकारको तर्फबाट, अध्यक्ष पंगेनी, शंकर बिसी, कृष्ण रेउले, राजु ढकाल, हरि डाँगी लगायतले गोल गरेका थिए ।
तस्बिर–राजु ढकालको फेशबुकबाट