Logo

सर्वाधिक धनराशीको ‘नेपाल लोक आइडल २०७५’ हुँदै



काठमाडौं, २४ बैशाख । सार्थक डिजिटल म्यूजिक प्रालिको आयोजना तथा जेब्रा क्रियशनको प्रस्तुतिमा नेपालमै पहिलोपटक सर्वाधिक धनराशी रहेको टेलिभिजन रियालिटी शो ‘नेपाल लोक आइडल २०७५’ को आयोजना गरिने भएको छ ।

शनिबार राजधानीको अनामनगरस्थित् यूनियन हाउसमा सार्थक डिजिटलले पत्रकार सम्मेलन गरेर उक्त आईडलको घोषणा गरेको हो । आगामी साउन महिनादेखि सातै वटा प्रदेशमा छनोट प्रक्रिया शूरु गर्ने पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ ।

नेपाली लोक संस्कृतिको जर्गेना, सम्बद्र्धन, र संरक्षण गर्ने उद्देश्यले नेपाल लोक आइडल २०७५ को आयोजना गरिएको आईडलका संयोजक जीवन पन्तले बताए ।

पहिलो चरणमा सातवटै प्रदेशमा प्रतिभाहरुको छनोट गरिने बताउँदै संयोजक पन्तले भने,‘हाम्रो प्रयास कठिन भएतापनि हामीहरु कुनैपनि हालतमा यो आइडललाई भव्य रुपमा सम्पन्न गर्छौं, अरुभन्दा बिरलै आफ्नो पन दिने खालको आइडल हो, यसलाई सफल पार्न कलाकर्मी, पत्रकार सबैको साथ मिल्ने मैले आशा गरेको छु ।’

त्यस्तै आईडलका निर्देशक सुरेन्द्र दाहालले नेपाल लोक आइडल २०७५ ले नेपाली लोक संस्कृतिको संरक्षणमा टेवा पुर्याउने दाबि गरेका छन् । उनले भने,‘नेपाली लोक संस्कृतिमाको प्रहारलाई रोक्न र नेपाली लोक गीतको मर्म र भावनालाई बचाउनमा यस आइडलले थोरै भएपनि भूमिका खेल्छ, काम गर्ने मानिसहरुका खुट्टा काट्नेहरु धेरै हुन्छन्, हामीले यो आइडल कुनैपनि हालतमा सम्पन्न गरेरै छोड्छौं ।’

उनले अघि थपे, ‘आइडल प्रथम हुनेले ३० लाख रुपैयाँ, दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्, यो आइडलले जन्माएका प्रतिभाहरुले भविष्यमा लोक गीत संगीतको संरक्षणको लागि आफूलाई सर्मपित बनाउने छन् ।’

लोक संस्कृतिको आधारमा स्थानीय निर्णायकद्धारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०-१० जनालाई छनोट गर्ने र ७० जनालाई राजधानीमा ल्याएर क्लास दिएर प्रतिपर्धामा उतार्ने आयोजकको तयारी रहेको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी सह कोषाध्यक्ष टिका पुन, प्रतिष्ठानकै केन्द्रीय सदस्य शिव हमाल लगायतले आइडलको लागि शुभकामना मन्तव्य दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्