Logo

दिल्पाका शिक्षासेवी अधिकारी सम्मानित



काठमाडौँ, २७ वैशाख । अन्नपूर्ण भूतपूर्व विद्यार्थी समाज अभूविस, काठमाडौँ र अन्नपूर्ण उच्च शैक्षिक केन्द्र सहयोग समितिले अन्नपूर्ण उच्च मावि, दिल्पा, भोजपुरका संस्थापक सदस्य कृष्णभक्त अधिकारीलाई बुधबार यहाँ सम्मान गरेको छ ।

दिल्पा, भोजपुरका शिक्षासेवी अधिकारीले २००८ सालमा दिल्पा बाहुनगाउँमा शिशुकक्षा सञ्चालनको शुरुवात गरी शिक्षक कुबेर चापागाँईसमेत भएर अध्यापन शुरु गर्नुभएको थियो भने २०१० मा हालको अन्नपूर्ण उमाविको संस्थापक सदस्यका रुपमा रहनुभएको थियो ।

गोरखा मिलेनियम सहकारी संस्था, मीनभवनमा भएको कार्यक्रमका समितिका सदस्य महेन्द्रकुमार वान्तवा र विद्यालयका पूर्व प्रअ चक्र रेग्मीले सम्मानपत्रका साथ दोसल्ला ओढाई ९३ वर्षीय अधिकारीलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक इन्द्रसुर राईले शिक्षाविहीन त्यस समयमा विद्यालय स्थापना गरी त्यस क्षेत्रमै ज्ञानको ज्योति फैलाउनु ठूलो कुरा भएको बताउनुभयो ।

हाल चप्रमारी, झापामा बसोवास गरिरहनुभएका सम्मानित अधिकारीले दिङ्लामा षडाननद्वारा स्थापित नेपालकै पुरानो संस्कृत पाठशालाको प्रेरणाले नै आफूहरुले पनि गाउँमा पठनपाठन शुरु गरेको बताउनुभयो ।

उहाँले शिक्षा भनेको रुख रोप्नुजस्तै हो, जसले भविष्यमा ज्ञानरुपी फल दिन्छ भन्नुभयो । हाल टेम्केमैयूँ गाउँपालिकामा रहेको उक्त विद्यालयमा हाल उच्च माविसम्मको अध्ययन अध्यापन हुने गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्