नविन लामिछाने: मनाङ, २८ वैशाख । माओवादी युद्धकालदेखि नै विस्थापित भई मनाङ छिरेका रुकुमका सत्य पुनमगर जंगलमा बसेको धेरै बर्ष भइसक्यो । नेपालमा माओवादी युद्धले चरम रुप लिएपछि सत्य पुनमगर गाउँ छाडेर मनाङ छिरेका हुन् । त्यतिबेला उनीलगायत अन्य रुकुमेली पनि मनाङ आएका थिए ।
कोही आफ्नो गाउँ फर्किसके भने कोही भने मनाङमा नै काम गरेर बसिरहेका छन् । अझै पनि मनाङका होटलदेखि गोठ, खेतबारीमा काम गर्ने रुकुमेली धेरै भेटिन्छन् । मनाङ्गेहरुका घर बनाउने, गोठमा बस्ने, काठ काट्ने, सबै काम रुकुमेली र गोर्खालीले नै गरिरहेका छन् ।
सत्य पुनमगर अहिले मनाङको हाकु वनमा काठको काम गरेर बस्दै आएका छन् । मनाङ्गेले पुर्जी लिएका जंगलका रूखबाट आवश्यक काठ काट्ने र मनाङ्गेको घरसम्म पु¥याउने उनको काम रहेको छ । उनी कहिले ढुङ्गाको ओडारमा बस्छन् त कहिले तिनै आफूले काटेका काठको बाकलबाट बनाएको छाप्रोमा रात कटाउने गर्छन् ।
“गाउँमा कोठा लिएर किन नबसेको रु” भनी प्रश्न गर्दा मगर भन्छन्, “गाउँमा बसेर के गर्ने रु हाम्रो काम वनमा नै हुन्छ । गाउँबाट यहाँसम्म आउन दुई दिन लाग्छ, समयको बर्बाद हुन्छ, त्यसैले हामी यहीँ बस्छौँ ।”
पानी परोस् या हिउँ नै किन नपरोस् उनी यही छाप्रोमा रात काट्छन् । दिनभरि रूख ढाल्ने, ताछ्ने, साइजअनुसार चिरा पार्ने उनको काम रहेको छ । यसरी काम गर्दा कति कमाउनु हुन्छ भनी सोध्दा उहाँ भन्नुहुन्छ, “दिनको रु ६०० पर्छ, खान बस्न यसैमा पर्छ ।”
तपार्इं घर जानु भएको छैन रु भन्दा उहाँ भन्नुहुन्छ, “१० वर्ष त गइन, अहिले दशैँमा गएको थिएँ । आफन्तले नै चिनेनन्, अनि फर्किएँ । मेरो घर भनेको यही वन हो र मेरा आफन्त नै यिनै रूख हुन् । यिनैले खाना दिएका छन्, लाउन दिएका छन् । मलाई यसैमा खुशी छ । यहाँका ढुङ्गा, माटो, रूखबिरुवा सबैले चिनेको छ ।”
माओवादी जनयुद्धले त्रसित भएका पुन विगतलाई यसरी सम्झन्छन् । “गाउँमा नयाँ मान्छेहरु आउँथे, रातभरि जंगल जंगल हिँडाउँथे, गाउँघरमा भएका युवायुवतीलाई लान्थे, गोली चल्थ्यो, मर्ने र बाँच्ने ठेगान हँुदैनथ्यो । त्यसैले बाँच्नका लागि यता आएको हो । अहिले घरमा कोही छैन ।”
यसरी जंगलमा कहिलेसम्म बस्ने त ? भन्दा उहाँ भन्नुहुन्छ, “बाँचुन्जेल र हातगोडा चलुन्जेल बस्छु । मरेपछि जेहोला होला ।” अहिले उनीसँग रोल्पाका काले बुढामगर साथी छन् । दुवैजना यही छप्रोमा बसेर काठको काम गर्दै आएका छन् । यसरी माओवादी जनयुद्धसँगै गाउँ छाडेका कयौँ सत्य पुनमगरहरु कुनै न कुनै पीडा बोकेर हाकु लेकको जंगलमा बास बस्न बाध्य छन् ।