विश्वनाथ सिम्खाडा : कालिकोट, ३१ बैशाख । जिल्लामा पछिल्ला दुईदिनमा परेको असिनाले २ करोड ६४ लाख रुपैयाँको तरकारी, फलफूल र अन्नबाली नष्ट गरेको छ । चैत्र २७ गते बेलुकी हावाहुरीसहित परेको असिनाले तरकारी, फलफूल, गहुँ र जौ बाली नष्ट गरेको जिल्ला विपद् ब्यवस्थापन समितिले जनाएको छ ।
समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमको अध्यक्षतामा बसेको बैठकले दुई नगरसहित तीन गाउँपालिकामा दुई करोड ६४ लाख ६७ हजार तीन सय ३४ रुपैयाँको बाली असिनाका कारण क्षति भएको ठहर गरेको हो ।
खाडाचक्र र रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकामा कृषि प्राविधिकको नेतृत्वमा राजनैतिक दल र संचारकर्मी सहित खटाएर क्षतिको विवरण संकलन गरेर राहतका लागि सरकारलाई सिफारिस गरिएको सहायक प्रजिअ राजकुमार दुलालले बताए ।
उनका अनुसार असिनाले सबैभन्दा बढी रास्कोट नगरपालिकामा ६५ लाख ३५ हजार , खाडाचक्र नगरपालिकामा ४३ लाख ७८ हजार, नरहरिनाथ गाउँपालिकामा ३२ लाख २ हजार, शुभकालिकामा १२ लाख १२ हजार र सान्नीत्रिवेणीमा गाउँपालिकामा १ करोड ११ लाख ३९ हजारको क्षति भएको विवरण आएको छ ।
रास्कोट नगरपालिकाले सुरुमा ९ करोडको तरकारी र फलफूल, ३ करोडको खाद्य बाली गरी १२ करोडको क्षति र्पुयाएको विवरण आएपछि निमित्त प्रजिअ दुलालको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले क्षति एकिन गर्न ३ सदस्यीय टोली असिना प्रभावित क्षेत्रमा खटाएको थियो ।
विवरण अनुसार ५८ लाख ४७ हजार मूल्यको तरकारी, ६६ लाख ९को फलफूल, १ करोड ३० लाखको गहुँ र ३५ लाख १२ हजार रुपैयाँको जौ बाली नष्ट भएको छ ।