Logo

मोदी भ्रमण : ओली प्रसन्न, देउवा खिन्न, प्रचण्ड निराश र उपेन्द्र-महन्थ उत्साही !



काठमाडौं, ३१ वैशाख । मित्रराष्ट्र गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मादीले दुई दिने नेपाल भ्रमण गरेर स्वदेश फर्किएसँगै नेपालमा भने उनको भ्रमणलाई लिएर अहिले चर्चा तथा परिचर्चा भैरहेको छ । मोदीको भ्रमण पूर्ण रुपमा सफल भएको नेपाल सरकारको दाबी छ ।

मोदीलाई त्रिभुवन विमानस्थलमा विदाई गरेकै क्षण मिडियासँग बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दुईदिने नेपाल भ्रमण धैरै हिसाबले सफल, ऐतिहासिक र सम्झनलायक इतिहासको एक महत्वपूर्ण मोड सावित भएको ठोकुवा गरेका थिए ।

मन्त्री ज्ञवालीले भ्रमणपछि सदियौँ पुरानो सम्बन्ध अझै सुदृढ रहने र अझ फराकिलो पार्न, सहयोगका नयाँ क्षेत्र पहिचान गर्न तथा विगतका सहमतिलाई प्रभावकारी कार्यान्वयनका बारेमा ठोस प्रगति हुने गरी निर्णय गरिएको जानकारी गराएका थिए ।

त्यस्तै उनले नयाँ समझदारीका क्षेत्रहरु रेल्वे, जलमार्ग र कृषिमा साझेदारी तथा विगतका सहमतिमा ठोस प्रगति हुने गरी आगामी सेप्टेम्बरसम्म काम गर्ने समयसीमा निर्धारणको समझदारी भएको पनि उल्लेख गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा र्पुयाएको बताएका छन् । ओलीले भारतीय समकक्षी मोदीसँग आफूले राष्ट्रिय हितलाई कमजोर हुनेगरी कुनै पनि खालको समझदारी नगरेको पनि संघीय संसदमार्फत स्पष्ट पारेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे आईतबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले अब दुई देशबीचको सम्बन्धलाई बराबरीको आधारमा अघि बढाउने वातावरण बनाउन पनि आफू सफल भएको दाबी समेत गर्दै आएका छन् ।

ओलीले नेपालको तराईका भूमि डुबान समस्या समाधान गर्न भारत तयार भएको पनि स्पष्ट पारेका छन् । भारतीय प्रधानमन्त्री मोदीले वर्षा अघि नै डुबान समस्या समाधानका लागि कार्यदल बनाएर काम गर्ने प्रतिवद्धता जनाएको भएको प्रधानमन्त्री ओलीको भनाई छ।

त्यस्तै प्रधानमन्त्री ओलीले भारतसँग ४ वटा स्थानबाट हवाई रुट लिने विषयमा पनि तत्काल प्राविधिक अध्ययन गरेर अघि बढने सहमति भएको पनि संसदलाई जानकारी गराएका थिए । समग्रमा ओली मोदीको भ्रमणपछि प्रसन्न छन् । मोदीले पटक पटक ओलीको प्रशंसा गर्दै आगामी दिनमा ओलीको भीजन अनुसार समृद्ध नेपाल, सुखी नेपाली अभियानमा भारतले साथ र सहयोग गर्ने वचन दिएका थिए ।

ओलीसँग मोदीले निकै हार्दिकता देखाएका थिए । यो झलक नेपाल र भारतका प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा देखिन्थ्यो । मोदीले ओलीलाई अंकमाल गरेर सम्बन्धमा हार्दिकता थपेका थिए ।

यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने खिन्न छन् । मोदीले कांग्रेस नेताहरुसँगको सामूहिक भेटवार्तामा निर्वाचनमा हार्दैमा नआत्तिन आग्रह गरेका थिए । मोदीले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिए । मोदीले ओलीलाई धेरै महत्व दिएकालेपनि होला, कांग्रेस सभापति देउवा खिन्न छन् ।

भ्रमणको दौरान मोदीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए । मोदीसँगको कुरापछिपनि प्रचण्डमा कुनै खुशीयाली देखिएन् । प्रचण्डलाई मोदीले त्यति महत्व नदिएको गुनासो माओवादी नेताहरुले नै गुनासो पोख्ने गरेका छन् ।

उपेन्द्र र महन्थ उत्साही

राजपा नेपालका नेताहरुलाई मोदीले सामूहिक रुपमा भेटेका थिए । तर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भने मोदीले एक्लाएक्लै भेटवार्ता गरेका थिए ।

स्रोतका अनुसार मोदीले निर्वाचनमा राम्रो गरेकोमा दुवै दलका नेताहरुलाई बधाई दिएका थिए । त्यतिमात्रै नभएर मोदीले वर्तमान सरकारलाई दिएको साथ र समर्थन यथावत राख्न समेत सुझाएका थिए ।

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव शनिबार काठमाडौँमा भेटवार्ता गर्नुहुँदै । तस्बिरः रोशन सापकोटा, रासस

राजपा नेपालका अध्यक्ष राजकिशोर यादवले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भनेका छन्,“ओली सरकारलाई दिएको समर्थन हामी फिर्ता लिँदैनौं, हाम्रो समर्थन कायमै रहन्छ।”



प्रतिक्रिया दिनुहोस्