Logo

कम्युनिस्ट एकताका दुई सारथि



कसरी भयो एमाले–माओवादी एकता
काठमाडौं ५ जेठ । ६ दशकदेखि गुटफुटमा रुमल्लिएको कम्युनिस्ट आन्दोलन ‘ब्रेक’ गर्दै ठूला दुई वाम दल एमाले र माओवादी केन्द्रले ३ जेठ (मदन–आश्रित स्मृति दिवस)मा पार्टी एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन् । एकीकरणलाई एकीकृत पार्टीले कम्युनिस्ट आन्दोलनको पुनर्गठनका रूपमा अथ्र्याएका छन् । यहाँसम्म पुग्ने भने झन्डै १४ वर्ष लागेको छ ।

नेकपा गठनसम्म पुग्न सम्बन्ध सुधारको सुरुवात ०६१ बाटै भएको देखिन्छ । त्यतिवेला तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच लखनउ, गोरखपुर र दिल्लीमा छलफल भएका थिए । त्यसकै आधारमा रोल्पामा माओवादीसँग सातबुँदे सहमति भयो । त्यसमा वामदेव गौतम र युवराज ज्ञवालीको महत्वपूर्ण भूमिका थियो । नयाँपत्रिकाबाट

त्यही सहमतिको जगमा भारतको दिल्लीमा सम्पन्न १२ बुँदे सहमतिबाट लोकतान्त्रिक गणतन्त्र र शान्तिको यात्रा अघि बढ्यो । त्यसो त, लामो समयसम्म एक–अर्कालाई उग्रपन्थी र दक्षिणपन्थी आरोपको बिल्ला भिराउँदै आएका दुई दल ०६२/६३ आन्दोलनदेखि दूरी घटाउँदै ल्याएका थिए ।

यसबीचमा एमाले र माओवादी पाँचपटक संयुक्त सरकारमा सहभागी भए । संयुक्त सरकारमा सहभागी भए पनि प्रतिस्पर्धा र सहकार्य जारी नै रह्यो । एमाले र माओवादी सहकार्य हुँदा सरकारमा सहभागी र तिक्तता बढ्दा एक–अर्कालाई गालीसमेत गर्न पछि पर्दैनथे ।

गत वर्षको स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी तालमेल थियो भने एमाले एक्लै निर्वाचनमा गएको थियो । जब, प्रदेश २ मा तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा माओवादीले एमालेलाई उछिन्यो, त्यसले एमालेलाई झड्का लाग्यो । प्रदेश र प्रतिनिधिसभामा निर्वाचनमा सोचेजस्तो नतिजा आउने नदेखेपछि एमालेले तालमेलका लागि माओवादीलाई प्रस्ताव ग-यो ।

यता माओवादी पनि स्थानीय तह निर्वाचनमा कांग्रेससँगको सहकार्यबाट सोचेअनुसार नतिजा ल्याउन नसकेपछि विकल्प खोजीमा थियो । यसैक्रममा एमालेले ६०/४० प्रतिशतका आधारमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने प्रस्ताव राख्यो । जुन, प्रस्ताव वामदेव गौतमले ल्याएका थिए ।

तर, एमाले–माओवादी तालमेलबाट मात्रै राम्रो भोट आउने नदेखेपछि एकता गर्ने विषयले प्रवेश पाएको नेकपा नेता जनार्दन शर्माले बताउँछन् । ‘बाहिर तालमेलसँगै एकता गर्ने विषय अपर्झट रूपमा आयो, तर सुरुमा एमाले–माओवादी तालमेल गर्ने विषयले मात्रै प्रवेश पाएको थियो ।

पार्टी एकीकरणमा रूपान्तरित भइहाल्ने विश्वासमा एमाले–माओवादीका नेताहरू पनि थिएनन् । प्रतिनिधिसभा तथा प्रदेश सभामा चुनावी तालमेलले मात्रै कांग्रेसलाई जित्न नसकिने देखिएपछि एकताको रणनीति अघि सारिएको थियो ।

राम्रो भोट नआउने देखिएपछि दसैँको टीकाका दिन एमाले–माओवादीबीच तालमेलसहित एकता गर्ने विषयमा सहमति भएको थियो,’ शर्मा भन्छन्, ‘एकता गर्ने विषय अध्यक्ष प्रचण्ड र मैले राखेका हौँ ।’

एकताको विषयमा छलफल गर्न एमालेबाट वामदेव गौतम र माओवादीबाट जनार्दन शर्माले पाएका थिए । तर, एकताको अन्तिम चरणमा वामदेव गौतमको ठाउँमा एमालेले विष्णु पौडेललाई अघि सारेको थियो । त्यसपछि, एकताको विषयमा एमालेबाट पौडेल र माओवादीबाट शर्माले एकतालाई टुंगोमा पु¥याउने अवसर पाएका थिए । जुन, संसदीय राजनीतिमा एमाले–माओवादीको १२ वर्षको सहकार्यबाट एकतामा परिणत भयो ।

६ बुँदेको जगमा एकीकरण 
केपी ओली नेतृत्वको सरकारबाट माओवादी बाहिरिएपछि चिसिँदो सम्बन्ध दुवै पार्टीका दोस्रो तहका नेताहरूको प्रयासबाट सकारात्मक दिशामा अघि बढेको थियो । तर, सम्बन्ध सुधारको त्यो प्रयास पार्टी एकीकरणमा रूपान्तरित भइहाल्ने विश्वसामा नेताहरू थिएनन् । माओवादीको सहयोगमा ओली सरकार बनेपछि दुवै पार्टी चुनावी तालमेल गर्दै अघि बढ्ने सोचमा थिए ।

सरकारबाट बहिर्गमनसँगै प्रचण्ड–ओलीबीच चिसिएको सम्बन्ध सुधारमा एमालेबाट वामदेव गौतम र विष्णु पौडेल तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालगायत नेता खटिए ।

स्थानीय चुनावको समीक्षासहित संसदीय चुनावमा सम्भावित तालमेलबारे प्रचण्ड र वामदेवबीच सुरु भएको संवाद–शृंखला ओली–प्रचण्डबीच सघन बन्दै जाँदा असोजसम्म पार्टी एकीकरण नै गर्ने तहमा विकसित भयो ।

गत १७ असोजमा एकताको आधार तयार पार्न एमालेबाट वामदेव गौतम र माओवादीबाट जनार्दन शर्माले जिम्मेवारी पाएका थिए । ‘वामदेवजी र मैले एकताका आधार तयार पाथ्र्यौँ, पहिले अध्यक्ष प्रचण्डलाई देखाउथ्यौँ, त्यसपछि त्यही अध्यक्ष केपी ओलीलाई देखाउँथ्यौँ,’ नेता शर्माले भने, ‘दुवै अध्यक्षले कहिले त्यो बुँदा हटाउनुस् भन्नुहुन्थ्यो, कहिले यो बुँदा हटाउनुस् भन्नुहुन्थ्यो, कहिले परिमार्जन गर्नुस् भन्नुहुन्थ्यो ।

दुवै अध्यक्षको निर्देशनअनुसार एकताका लागि आधार तयार गथ्र्यौँ ।’ यो खाका तयार गर्दा दुवै अध्यक्ष कसरी एकता होला भनेर शंका गर्ने गरेको उनी सम्झिन्छन् । दुवै अध्यक्ष ‘कन्भिन्स’ हुँदै जाँदा अन्ततः सहमति भएको बुँदा तयार गरियो र गत १७ असोजमा चुनावी तालमेल र पार्टी एकीकरण गर्ने ६ बुँदे सहमतिमा दुवै पार्टीबीच हस्ताक्षर भयो ।

पौडेल र शर्मा बने सारथि
एकताका लागि सुरुवातमा वामदेव गौतम र जनार्दन शर्माले जिम्मेवारी पाएका थिए । पछि वामदेव गौतम एकताको छलफलमा सहभागी हुँदा अविश्वास बढ्दै गएपछि विष्णु पौडेललाई अघि सारिएको थियो । त्यसपछि एकताका एमालेबाट ओलीनिकट विष्णु पौडेल र माओवादीबाट जनार्दन शर्र्माले जिम्मेवारी पाएका थिए ।

एकतामा सक्रिय विष्णु पौडेल नेपाल कम्युनिस्ट पार्टीको महासचिवको महत्वपूर्ण जिम्मेवारी पाएका छन् । करिब दुईतिहाइ बहुमत प्राप्त शक्तिशाली कम्युनिस्ट पार्टीमा पौडेलले पोर्टफोलियोमा अघि रहेका तीन उपाध्यक्ष, महासचिव ईश्वर पोखरेल, समकक्षी घनश्याम भुसाल, संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पछि पार्दै संगठनभित्र पकड रहने महासचिव पदको जिम्मेवारी पाएका हुन् ।

दुई कार्यकाल (आठ वर्ष) महासचिव रहिसकेका पोखरेललाई पछि पार्दै महासचिव बनेका पौडेल एकीकृत पार्टी सञ्चालन गर्ने ‘हाइकमान्ड’को सदस्य मात्र बनेन्, दैनिक पार्टी र कार्यालय सञ्चालनको महत्वपूर्ण जिम्मेवारीमा पनि पुगेका छन् । त्यसो त अध्यक्ष ओलीको विश्वासपात्र तथा भावी महासचिवका रूपमा हेरिएका नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल पनि पछि परेका छन् ।

अर्का नेता जनार्दन शर्मालाई पनि कुनै महत्वपूर्ण जिम्मेवारी दिइने ओली–प्रचण्डनिकटहरू बताउँछन् । शर्मा जनयुद्धमा प्रत्यक्ष फिल्डमा कमान्डिङ गरेर लडाइँमा खटिएका नेता हुन् । आफ्ना कुरा राख्दा सीधा राख्ने उनी स्वच्छ छविका नेताका रूपमा लिइन्छन् ।

जसका कारण ओली–प्रचण्डले पनि शर्मालाई रुचाउने गरेका छन् । ऊर्जामन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेको जस शर्र्माले पाएका छन् । यसले सर्वसाधारणमा पनि शर्माको लोकप्रियता बढेको छ ।

त्यसो त पौडेल र शर्माबीचको घनिष्ट सम्बन्धले पनि दुई अध्यक्षलाई जोडिरहन त्यतिकै महत्वपूर्ण भूमिका रहेको बताइन्छ । जनार्दन शर्मा भन्छन्, ‘मलाई कूटनीतिक कुरा घुमाएर बोल्न आउँदैन, आफ्नो कुरा सीधा राख्छु ।

एकताको सन्दर्भमा पनि ओली कमरेड र प्रचण्ड कमरेडलाई सीधासीधा नै कुरा राख्थेँ । यस्तो हुँदा तत्काल नेताहरूले मन नपराए पनि विनास्वार्थ भनेको रहेछ भन्ने पछि थाहा पाउँछन् ।’

यी दुईबीच अनौपचारिक तहमा एकतासँग जोडिएका धेरै मसिना विषयमा पनि कुराकानी हुन्थ्यो । गत असोजको ६ बुँदेको मस्यौदा गरेर दुवै अध्यक्षलाई हस्ताक्षरको तहमा पु-याउने काम पौडेल र शर्माले नै गरेका थिए । तर, पार्टीभित्र चर्को दबाब खेप्न नसकेपछि त्यतिवेला प्रचण्ड एउटै चिह्न सूर्यबाट चुनाव लड्ने सहमतिबाट पछि हटेका थिए ।

जब, प्रदेश २ मा तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा माओवादीले एमालेलाई उछिन्यो, त्यसले एमालेलाई झड्का लाग्यो । र, त्यहीँबाट एमाले–माओवादी सम्बन्ध सुध्रिन सुरु भयो ।

एकता संयोजन समितिबाट गठित विधान र सांगठनिक कार्यदलमा रहेका पौडेल र शर्माले नै पछिल्लो एक महिना दुई अध्यक्षबीचको संवादको सहमतिलाई प्रतिवेदनमा लिपिबद्ध गर्नेदेखि एकताको मिति तोक्ने, तयारी गर्नेलगायत सबै महत्वपूर्ण काममा सहयोग पु¥याएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएलगत्तै दुवै नेता प्रतिवेदनसम्बन्धी प्राविधिक काम र एकताको तयारीका लागि बालुवाटार र खुमलटारमा आवतजावतमा व्यस्त रहे । ‘बिग्रियो–बिग्रियो भन्दा बिग्रिहाल्ने, अब सुध्रियो, बन्यो भन्नेबित्तिकै बनिहाल्ने बाहिर चर्चा हुने गरेजस्तो दुई अध्यक्षको सम्बन्ध थिएन, नेताहरूको सम्बन्ध बाहिरी चर्चाले बिग्रिने र बन्ने होइन,’ महासचिव पौडेलले भन्छन, ‘उहाँहरू पछिल्ला दिनमा जीवन्त संवादमै हुनुहुन्थ्यो, त्यसैले पूर्वयोजना र तयारीअनुसार नै एकीकरण सम्पन्न भयो ।’

अविश्वास अन्त्यमा सेतुको भूमिका 
चुनावी परिणामपछि केन्द्र, प्रदेश सरकार गठनलगायतका कामले एकता प्रक्रियामा ढिलाइ हुँदै गए पनि पौडेल र शर्मा खटिइरहे । ९ वैशाखमा एकता गर्ने भनिए पनि सामान्य ब्यानरका विषयमा समेत विवाद भयो । त्यसपछि दूरी बढ्दै पनि गयो ।

ट्विटरमा नेताहरूले लेख्ने गरेका कुरा पनि उछालिन थाले । ओली–प्रचण्डबीच पनि भेटघाट कम हुन गएको थियो । तर, त्यहीबीचमा पौडेल र शर्माले नयाँ उपाय खोजे यसमा ओलीका नातेदारले भूमिका खेलेका थिए । ‘प्रेम भाइ (ओलीका नातेदार)ले अथक प्रयास गर्नुभयो’ शर्मा भन्छन् ।

पहिले एक्ला–एक्लै छलफलमा बस्ने ओली र प्रचण्डले पछि पौडेल र शर्मालाई पनि सहभागी गराउन थाले । त्यसमा छलफल कहाँ पुग्यो, केमा कुरा मिलेन भन्ने विषयमा चारजनाका बीचमा छलफल हुन्थ्यो । त्यसपछि सहमत नभएका विषयमा पौडेल र शर्मा छलफल गरेर सहमतिसम्म पु-याउने गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्