काठमाडौं ६ बैशाख ।
बिचौलियाका कारण जिल्लाका किसानहरू मारमा परेका छन् । बिचौलियाले लगानीभन्दा पनि कम आम्दानी हुने गरी गोलभेँडाको मूल्य निर्धारण गरेपछि किसानका उत्पादन बोटमै कुहिन थालेका छन् । जिल्लामा एक करोडभन्दा बढीको गोलभेँडा बोटमै कुहिएको किसानको गुनासो छ ।
बोटभरि लटरम्म गोलभेँडा फले पनि मूल्य नपाएपछि किसानले बिक्री गर्न मानेका छैनन् । बिचौलिया व्यापारीहरूले प्रतिकिलो ५ देखि १० रुपैयाँ मूल्य कायम गरेपछि कपिलवस्तुको बुद्धुभूमि नगरपालिका– १० धनकौलीका कृषकहरूले उत्पादन गरेको गोलभेँडा नटिप्दा बोटमै कुहिएको हो । ‘टिप्ने ज्यालासमेत मुस्किलले उठने भएपछि हामीले खेतमा फलाएको गोलभेँडा त्यत्तिकै छाडेका छौँ,’ धनकौलीका अगुवा कृषक रामदिन केवटले दुखेसो पोख्दै भने । कृषकका अनुसार धनकौली का ९ गाउँमा एक करोड बढीको गोलभेँडा खेतमै कुहिएको छ ।
५० हजार लगानी गर्दा २० हजार आम्दानी
वडाका देउपुरा, मथुरानगर, लौहरौला, धर्मपुर, हरहवा, शिवपुर, मोतीनगर, गगनी र चेतरादेईमा गोलभेँडा खेतभरि छरिएको छ । ९ गाउँमा कृषकले ७० हेक्टरभन्दा बढी क्षेत्रफलमा गोलभेँडा लगाएका छन् । ‘बोटमा गोलभेँडा लटरम्म झुलेका छन्,’ देउपुराका कृषक राम केवटले भने, ‘बोटबाट आफैँ खस्छन्, हेर्न पनि मन लाग्दैन ।’ उनले ५० हजार बढी खर्च गरेर खेतमा लगाएको गोलभेँडाबाट मुस्किलले २० हजार आम्दानी हुने देखिएको बताए ।
अर्का कृषक बहराइची केवटले उत्पादन बढी भएको र कोल्डस्टोर नहुँदा कौडीको भाउमा गोलभेँडा बेच्नुपर्ने बाध्यता आएको बताए । उनले भने, ‘भर्खर उत्पादन दिन थालेको थियो, तर बजारमा बिक्री नुहँदा खेतमै कुहाएर बसेका छौँ ।’ अर्का कृषक मदन केवटको समस्या पनि उही छ । उनको ६ लाखबराबरको गोलभेँडा खेतमा कुहिएको छ । उनका अनुसार वडाका ९ वटा गाउँका एक सय ५० कृषक बिचौलियाको सस्तो दररेटबाट प्रभावित बनेका छन् ।
उत्पादन राम्रो, बजार मूल्य कम
तरकारीको पकेट क्षेत्र मानिने यो वडामा ५५ हजार क्विन्टल गोलभँेडा उत्पादन हुने अनुमान कृषकको छ । बिचौलियाले मूल्य निर्धारण गर्ने गरेकाले समस्या आएको कृषक भीम केवटले गुनासो गरेका छन् । गत वर्ष १० कठ्ठाको गोलभेँडा बेचेर चार लाख कमाएका कृषक रामकुमार यादवले यसवर्ष जम्मा ७५ हजार मात्र कमाएको बताए । ‘खेतमा टमाटर राम्रै फलेका छन्, मूल्यले गर्दा टिप्ने जाँगर नै लाग्दैन, त्यसैले त्यत्तिकै छाडेको छु,’ उनले गुनासो गरे । यस क्षेत्रमा कृषकहरूको २० हजार क्विन्टल गोलभेँडा कुहिएको अनुमान छ ।
उत्पादन बढी हुँदा समस्या : कृषि कार्यालय
यहाँबाट दैनिक २० देखि ३० क्विन्टल गोलभेँडा बाहिर जिल्लामा गए पनि उत्पादन बढ्दा बिक्रीमा समस्या आएको कृषि प्राविधिकहरूको भनाइ छ । कृिष कार्यालयका प्रमुख राकेश ओझाले उत्पादन बढी भएकाले मूल्यमा कमी आएको बताए । ‘विस्तारै फेरि टमाटरको मूल्य बढदै छ, आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने । तरकारी जोन कार्यक्रम लागू भएकाले आउने वर्षदेखि कृषकहरूको अधिकांश समस्या समाधान हुने उनको भनाइ छ । नयाँपत्रिकाबाट